हुम्ला । हुल्लाको दक्षिण भेगमा पर्ने चंखेली गाउँपालिकामा भएको बोलेरो जीप दुर्घटनाका गम्भीर घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरबाट सुर्खेत पुर्याइएको छ । गम्भीर घाइते भएका चंखेली गाउँपालिका–२ का सुरेन्द्रबहादुर शाही, तिलबाहादुर शाही, छायाँनाथ रारा नगरपालिका मुगुका रमेश मल्ल र पृथ्वी राउतलाई उद्दार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

बुधबार विहान कर्णाली प्रदेश ०२–००१ च ०९२२ नम्बरको बोलेर जीप दुर्घटनाहुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनकाअनुसार जीप चंखेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटनामा परेको हो ।

दुर्घटना हुनासाथ मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरेको थियो । गौरीसल्लामा दुर्घटना भएको जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


नेपाल कर्म । ५ भाद्र २०८१, बुधबार १६:२९