सुर्खेत । ३६ वर्ष पुरानो विद्युतको कोहलपुर–सुर्खेत प्रशारणको संरचनाका कारण वीरेन्द्रनगरबासी खेप्नु सास्ती खेपिरहेका छन् । २०४५ सालमा राजाको ठाडो आदेशमा बनेको विद्युतीको लाइन हाल दैलेख, कालिकोट, जुम्ला, जाजरकोट र डोल्पा पु¥याइ सकिएको छ ।
तर विद्युतको मुख्य प्रशारण लाइन कोहलपुर–छिन्चु–वीरेन्द्रनगरको क्षमता सुधार नगर्दा स्थानीयले लो भोल्टेजको सास्ती खेपिरहेका छन् । यहीँ लाइनमा कुनै समस्या देखिए मर्मत गर्न दुई दिनभन्दा बढी लाग्ने गरेको छ । जसले सुर्खेतबाट मात्रै हैन विद्युतको पहुँच पुगेका दैलेख, कालिकोट, जुम्ला, जाजरकोट, डोल्पा तथा रुकुम पश्चिम र सल्यान जिल्लाका पश्चिम क्षेत्रका नागरिकले निकै समस्या झेलिरहनु परेको छ ।


पछिल्लो पटक शनिवार विहान बबईको निकुञ्ज क्षेत्रमा विद्युतका चार पोल ढल्दा झण्डै ३५ घण्टापछि सेवा सञ्चालनमा आयो । वीरेन्द्रनगरमा विद्युत सेवा शुरु भएपनि उपत्यकाकै भुरेली क्षेत्रको विद्युत सोमबार साँझसम्म पनि नियमित बन्न सकेन् ।
निकुञ्ज क्षेत्र हुनु र विद्युतका पोल रुखभन्दा साना भएकै कारण सामान्य अवस्थामा रुख ढल्दा क्षती पुग्ने गरेको छ । यसको बैकल्पिक उपाय भनेकै १३२ केभी हाइटेन्सन लाइन विस्तार नै हो । जुन काम हाल जारी छ । तर प्रशारण लाइनको प्रवेश विन्दु बाँकेको गाभर र बानियाभारको विवाद अदालत प्रवेश गरिसकेको छ । यसले अनिश्चितता बनाइदिएको छ ।

विद्युतको लापारवाही चक्र
लापरवाही चक्र १ : ०७४ पुस ८ गतेभित्र वीरेन्द्रनगरबाट–बाँगेशीमल–बड्डीचौर–बावियाचौर–गुटु–विजौरा विद्युत पु¥याउने गरी प्राधिकरण ठेक्का सम्झौता गरेको थियो । वीरेन्द्रनगरको बुदबुदी सव–स्टेशनबाट वीरेन्द्रनगरको वडा नम्बर ९, ३, २ को विच क्षेत्रबाट लाइन विस्तारका लागि २०७२ जेठ ३२ गते ठेक्का सम्झौता गरेको हो ।
प्राधिकरणको उदासिनता र ठेकेदार कम्पनीको लापरवाहीले वीरेन्द्रनगर उपत्यका र गिरीघाट क्षेत्रमा पोल गाडेर ठेक्का नै अलपत्र प¥यो । त्यो बेला झण्डै पाँच करोडको ठेक्का आह्वान गरेर विद्युत लाइन विस्तारको काम शुरु गरिएको थियो । यद्यपी विद्युतको राष्ट्रिय प्रशारण लाइन सुर्खेत पश्चिम पु¥याउन २०६८ सालदेखि सुरुवात गरिएको हो ।
लापरवाही चक्र २ : प्राधिकरणले सुरुवातमा वीरेन्द्रनगर उपत्यकाका केही क्षेत्रमा पोल गाड्यो । तर ठेक्काको कामले गति लिएन् । मुख्यगरी त्यो समय मुआब्जा र जंगल क्षेत्रको रुख कटानको अनुमति नहुँदा तार तान्ने कामले गति लिन नसक्दा अलपत्र प¥यो । हतार ठेक्का खोल्ने प्राधिकरणको लारवाहीले नै सुर्खेत पश्चिमका नागरिकले वीरेन्द्रनगरको वत्ती कहिले आउँला भनेर दियालो र टुक्की भरमै दैनिकी गुजारे ।

लापरवाही चक्र ३ : २०७२ मा सुर्खेत पश्चिममा विद्युत पु¥याउन ठेक्का आह्वान गरियो । तर रुख काट्ने अनुमति सरकारले ६ वर्षपछि अर्थात् २०७८ पुसमा दियो । त्यो बेलासम्म वीरेन्द्रनगर उपत्यकाको विच क्षेत्रबाट विद्युत लैजाने ठेक्का नै रद्द गरेर वुदवुदी एयरपोट चोक–मंगलगढी–बाँगेशीमल फोरलेन सडक किनाराकै पोलबाट विद्युत विस्तारको काम अघि बढाइ सकिएको थियो ।
१० वर्षपछि २०७८ मा कभर कन्डक्टर तारसहित ३३ केभी विद्युतको प्रशारण लाइन बाँगेशीमलसम्म विस्तार गरिएको थियो । रुट परिवर्तन गरेपनि अहिले उपत्यकका विच खेतमा गाडीएका पोल प्राधिकरणले उखलेको छैन् ।

लापरवाही चक्र ४ : वीरेन्द्रनगरबाट विद्युतको राष्ट्रिय प्रशारण लाइन बावियाचौर पुग्ने सम्भावना झिनो बनेपछि कैलालीबाट ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार गरिएको हो । कैलालीको चिसापानी–सोल्टासम्म राष्ट्रिय विद्युत पुगिसकेकाले सोल्टाबाट बावियाचौर विद्युत ल्याइएको हो । झण्डै ६ करोड लागतमा २०७९ मा विद्युत वावियाचौर सव स्टेशनमा चार्ज गरिएको थियो ।
जाल झेलमा अल्झिएको प्राधिकरण
वीरेन्द्रनगरबाट गढी–फिनिकाँडा–बड्डीचौर विस्तार गरिसकिएको थियो । विद्युतको छोटो लाइन बाँगेशीमल–वड्डीचौर–वावियाचौर हो । सबै विवाद सल्टिसक्दा पनि प्राधिकरणले बड्डीचौर–वावियाचौर र वड्डीचौर–वागेशीमलमा अपेक्षाकृत काम गर्न सकेन् ।
शुरुको ठेक्का तोडेर प्राधिकरणले बुदबुदी–मंगलगढी–बाँगेशीमल, बाँगेशीमल–ओदालताल–बड्डीचौर, बड्डीचौर–ब्यूरेनी–बावियाचौर प्रशारण लाइन विस्तारका लागि ठेक्का गरेको हो । झण्डै ६० लाखमा ठेक्का आह्वान गरेको प्राधिकरणले लेवर खर्च दिनेगरी काम अघि बढाएको हो ।
काम गर्ने क्रममा बड्डीचौर क्षेत्रमा लाइन पुगेपछि स्थानीयले अवरोध गरे । विवाद सल्टाउन चुकेको प्राधिकरणले झण्डै दुई महिना त्यहीँ वितायो । अन्तत कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल आफै पुगेर विवाद सल्टाएको दुई महिना वित्दा पनि बावियाचौर–वीरेन्द्रनगर विद्युतको लाइन जोड्न सकेको छैन ।
‘लापरवाही नभनौं, परिस्थिति नै राम्रो बनिदिएन्’
बड्डीचौरमा देखिएको विवाद देखाएर बन्छिएको नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले बड्डीचौर–बावियाचौर, बड्डीचौर–बाँगेशीमल लाइनमा पर्ने रुखका हांगाविगा नकाट्नु र ढलेका पोल सिधा नगर्नु नै लाइन वुदवुदी सव स्टेशनमा चार्ज गर्न ढिलाइ भइरहेको छ ।
‘तपाइँले भने जस्तै लापरवाही भन्न मिलेन, विवाद नभएको भए त अहिलेसम्म बावियौचारको विद्युत विरेन्द्रनगर चार्ज गरिसक्थ्यौं,’ विद्युतका कर्णाली प्रादेशीक कार्यालयका प्रमुख शम्भु कुसियत यादव भन्छन्, ‘ठेकेदार कम्पनीका पनि धेरै ठाउँ काम हुन्छन्, बड्डीचौरमा विवाद देखिदा उ अनेत्रै पुगिसक्दा फेरि बोलाएर काम गर्न ढिलाइ चाहीँ भएको हो ।’
मसिना क्षेत्रमा केही पोल र ति क्षेत्रमा रुखका हांगा काट्नु पर्ने भएकाले केही दिनमा ३३ केभीको सुर्खेत पश्चिम वीरेन्द्रनगरमा जोडिने यादव बताउँछन् ।
बल्ल निकाल्यो सूचना
प्राधिकरणले आइतबार मात्रै रचा–बड्डीचौर–दमारे–गिरीघाट–वीरेन्द्रनगर लाइन परीक्षण गर्न सूचना जारी गरेको छ । तर अहिलेसम्म ओदालतालदेखि मसिनाहुँदै बड्डीचौर गुम्बासम्मको लाइन क्लियर गरिसकेको छैन् । वीरेन्द्रनगरबाट ओदालसम्म र वावियाचौरबाट बड्डीचौरसम्म अहिले विद्युत छाडिएको छ । स्थानीयलाई लाइन छाडिसकेकोले विद्युतका पोल, स्टे छुने वा चलाउने नगर्न अपिल गरेको छ ।
पश्चिमबाट लाइन वीरेन्द्रनगरमा जाेडिए हाल देखिएकाे विद्युकाे लाे भाेल्टेज र अनियमित समस्या ८० प्रतिशत समाधान हुनेछ । साथै काेहलपुर सुर्खेत प्रशारण लाइनमा समस्या देखिए पश्चिमबाट जडान गरिएकाे विद्युतकाे लाइनले सञ्चालन हुनेछ भने कैलाली-बावियाचाैर लाइनमा समस्या भएमा वीरेन्द्रनगरबाट लाइन छाड्न सहज बन्नेछ ।

सुशील खड्का । ४ भाद्र २०८१, मंगलवार १९:३६