१३२ केभी विद्युत : निकुञ्जमा रुख काटिदै, बाँकेको विवाद अदालत पुग्यो

सुर्खेत । सुख्खा महिनामा विद्युतको लो भोल्टेजले वर्षौदेखि सुर्खेतका नागरिक आजित छन् । प्रयाप्त विद्युतको भोल्टेज नआउँदा गर्मी सिजनमा नागरिकमा पंखा नचल्दा सास्ती मात्रै व्यहोरेका छैनन्, उद्योग स्थापना गरेर आम्दानी गर्ने सोचमा रहेका व्यवसायीहरुले उद्योग नै सञ्चालन गर्न सकिरहेका छैनन् ।



वर्षौंदेखि कोहलपुर–सुर्खेत १३२ केभी विद्युतको प्रशारण लाइन निर्माणको कामले अपेक्षाकृत प्रगति नलिँदा कर्णालीबासीमा झनै निराशा छाएको छ । स्व. राजा वीरेन्द्रको ठाडो आदेशमा २०४५ सालमा नेपाल विद्युत प्राधिकरणले सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा विद्युत लाइन विस्तार गरेका थिए । ३६ वर्ष पहिला निर्माण गरेको पुरानै विद्युतका संरचनाले सुर्खेत मात्रै हैन विद्युत विस्तार भएका जिल्लाका नागरिकहरुले लो भोल्टेजको समस्या झेलिरहेका छन् ।

निकुञ्जको अल्झन सुल्झियो
२०७६ असार २२ गते कोहलपुर–सुर्खेतको १३२ केभी विद्युतको निर्माणका लागि सम्झौता गरिएको हो । भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले यो आयोजनाको निर्माण जिम्मा पाएको छ । विवाद नभएको भए यो आयोजना सम्झौता मितिदेखि दुई वर्ष अर्थात् २०७८ असार २३ गते सम्पन्न भइसक्नु पर्ने हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवादका कारण १३२ केभीको लाइन थप तीन वर्ष धकेलिएको छ । विवाद नभएको क्षेत्र हर्रे–छिन्चु–वीरेन्द्रनगर प्रशारण लाइनको टावर निर्माणदेखि तार तान्ने काम एक वर्षअघि नै सकिएको छ ।

वीरेन्द्रनगरको सुब्बाकुनामा सव स्टेशनको काम अन्तिम चरणमा छ । मुख्य विवाद देखिएको बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा रुख कटानको अनुमति पाएसँगै अबको तीन महिनामा काम सकिने आयोजना प्रमुख रवि चौधरीले जानकारी दिए ।

‘रुख नभएको क्षेत्रमा टावरको जग (फाउण्डेशन) को काम जारी छ,’ चौधरी भन्छन्, ‘रुख काट्नु पर्ने क्षेत्रको काम बाँकी छैन, रुख कटान अनुमतिको प्रक्रिया करिव टुंगिने चरणमा रहेकाले बाँकी काम पनि तिव्र गतिमा हुन्छ ।’

बाँकेकाे विवाद सल्टिएमा आगामी माघ महिनासम्म वीरेन्द्रनगरकाे सुब्बाकुना सव-स्टेशनमा विद्युता चार्ज गर्नेगरी लागिरहेकाे प्रमुख चाैधरीले जानकारी दिए ।

निकुञ्ज क्षेत्रमा ५० टावरको फाण्डेशन तयार
५२ किलोमिटर कोहलपुर–सुर्खेत प्रसारण लाइनमा एक सय ६१ वटा टावर निर्माण गर्नुपर्ने छ । यीमध्य निकुञ्ज क्षेत्रमा ७५ ओटा टावर बनाउनु पर्नेछ । हाल निकुञ्ज भित्र रुख नभएका क्षेत्रमा झण्डै ४२ बढी टावरको फाउण्डेशन तयार गरिसकिएको छ ।

झण्डै सात वटा टावरको फाउण्डेशन बनाउने काम जारी छ । ‘रुख भएका क्षेत्रमा काम गरेका छैनौं, ति क्षेत्रमा भनेको २५ ओटा टावरको फाउण्डेशन बनाउनु हो,’ आयोजना प्रमुख चौधरी भन्छन्, ‘केही दिनमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख फर्किनु भयो भने रुख कटानको अन्तिम अनुमति दिएपछि तिव्रता दिन्छौं ।’

आयोजनाले फाउण्डेशन सकिएको क्षेत्रमा टावर निर्माण गर्ने र अनुमति पाएको ठाउँमा रुख कटान गरेर तार तान्ने काम थाल्ने तयारीमा छ । निकुञ्ज क्षेत्रका झण्डै १३ हजार साना ठूला रुख कटान गर्नुपर्ने भएपछि आयोजनाले जग्गा खरिद गरेर वृक्षारोपण गरिसकेको छ ।

बाँकेको विवाद अदालत पुग्यो
विद्युत लाइन प्रशारणको शुरुवाती विन्दु बाँकेको बानियाभार क्षेत्रको विवाद अदालत पुगेको छ । टावर निर्माण गर्ने क्षेत्रमा जग्गा अधिकरणको विषयमा विवाद बढेपछि स्थानीयले उचित मुआब्जाको माग राख्दै गत जेठ ३२ गते रिट उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा दायर गरेका थिए ।

अदालतले शुरुमा अल्पकालिन र आदेश अन्तरिम आदेश दिएको छ । बाँकेको बैजनाथ गाउँपालिका १ को गाभरमा पाँच पोल र ४ वडाको बानियाभारमा तीन ओटा टावर निर्माण गर्नुपर्नेछ । क्षेत्रका स्थानीयले अवरोध गर्दै आएका छन् ।

यी ठाउँमा नौ ओटा विद्युतका पोलको फाण्डेशन निर्माणमा स्थानीयले अवरोध गरेका छन् । ‘पूरानै डिपिआर अनुसार काम नगर्दा आफूहरु मर्कामा परेको छौं,’ प्रभावित क्षेत्रका स्थानीय नगेन्द्रबहादुर शाह भन्छन्, ‘हामी कर्णालीबासीका लागि लैजान लागिएको प्रशारण लाइन निर्माण हुनुहुँदैन भन्ने विरोधी हैनौं । हामी पीडित छौं हाम्रा माग सम्बोन्धन गरिनुपर्छ भनेर अदालत पुगेका हौं ।’

बाँकेमा देखिएको नौं पोलमध्य केहीको विवाद समाधान भएको आयोजना प्रमुख चौधरी बताउँछन् । अन्तिम आदेश अदालतबाट के आउँछ त्यसपछि कसरी अघि बढ्छ भन्ने थाहा हुने चौधरीको भनाई छ ।

अधिकाँश टावरको फाउण्डेशन निर्माण गरिसकिएको छ भने सुर्खेत खण्डको हर्रे–छिन्चु–वीरेन्द्रनगर खण्डमा टावर निर्माणसँगै तार तानेर सकिएको छ । यो आयोजना कुल लागत ७० करोड रकम रहेको छ ।

तपाईको प्रतिक्रिया