दैलेखको कट्टीमा ६ घण्टामा १३७ मिलिमिटर वर्षा, सावधानी अपनाउन चेतावनी जारी

सुर्खेत । विहानैदेखि कर्णालीका अधिकाँश जिल्लामा वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक वर्षा कर्णालीको दैलेखमा भएको मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।



पछिल्लो ६ घण्टामा दैलेखको कट्टीमा १३७ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो एक घण्टामा १८ र ३ घण्टामा ६२ मिलिमिटर वर्षा भएको कट्टीमा रहेको मापन केन्द्रले रेकर्ड गरेको छ । भगवतीमाई गाउँपालिकामा पर्ने कट्टीमा सर्वाधिक वर्षा भएपछि त्यस आसपासमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ ।

भगवतीमाइ गाउँपालिका अध्यक्ष गणेश थापाले वेस्तडा खाेलामा आएकाे बाढीले वेस्तडा बजार नजिकै पर्ने गिरी चाेकतर्फ कटान गरिरहेकाले स्थानीयलाइ सुरक्षित स्थानमा बस्न अनुराेध गरिएकाे बताए । अहिले पनि ठूलाे वर्षा भइरहेकाले थप जाेखिम बढ्न सक्ने भएकाले पालिकाभरीका सबै नै नागरिकलाइ सुरक्षित राख्न समन्वय भइरहेकाे बताए ।

वर्षा हुने क्रम नरोकिएकाले कट्टी आसपास भएर बग्ने खहरे र वेस्तडा खोलामा बाढी बढीरहेकोले नागरिकलाई अलर्ट जारी गरिएको हो । पछिल्लाे ६ घण्टामा वीरेन्द्रनगरको गोठीकाँडामा १० र रातानाङ्गलामा २३.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

तपाईको प्रतिक्रिया