सुर्खेत । मनसुनी वायुको प्रभावका कारण सुर्खेतसहित कर्णालीका अधिकाँश जिल्लामा विहानैदेखि वर्षात भइरहेको छ । आइतबार दिनभर बदली रहने र मेघ गर्जन चट्याङ्गसहित हल्का र मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

कर्णालीका सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम, जाजरकोट र जुम्ला जिल्ला तथा सूदुरपश्चिम प्रदेशका अधिकाँश जिल्लामा वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

वर्षात भइरहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुराेध गरेकाे छ । वर्षात हुने क्रम जारी रहेकाले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु पनि अपिल गरिएकाे छ ।

भदौ ०२ गते (आईतबार), दिउँसोː गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

नेपाल कर्म । २ भाद्र २०८१, आईतवार ०७:३९