सुर्खेत । सुर्खेत प्रहरीले साउन अन्तिम साता मात्रै सात जनालाई पक्राउ गरेको छ । अभद्र व्यहार, बैकिङ कसुर, ठगी मुद्दा र लागु औषध ब्राउन सुगरकाे काराेबार गरिएकाे अवस्थामा आरोपितहरुलाई प्रहरीले विभिन्न समयमा पक्राउ गरेको हो ।

सुर्खेत जिल्ला अदालतले अभद्र व्यवहार मुद्दामा जरिवना फैसला गरेको तर फरार रहेका बीरबहादुर नेपालीलाई वीरेन्द्रनगर १० बाट पक्राउ गरेको छ । १८ वर्षिय नेपालीलाई अदालतले नौ हजार ५९५ रुपैया जरिवनाको फैसला गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बैकिङ कसुर मुद्दा दर्ता भएको र फरार रहेको वीरेन्द्रनगर–११ का धनबहादुर वलीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता विश्वकर्माको भनाई छ ।
चार महिना २७ दिन कैद र पाँच हजार जरिवना फैसला भएका ४० वर्षीय कमलबाबु राना पनि पक्राउ परेका छन् । चिंगाड गाउँपालिका–५ सुर्खेतका रानालाई घरमै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

लागु औषध ब्राउन सुगर राखेको आरोप लागेका ६ जनालाई वीरेन्द्रनगरका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० को एक घरमा डेरा बस्ने महेन्द्र भन्ने शैलेश शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
२४ वर्षीय शाहीको डेराबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ३८० मिलिग्राम र नगद सत्ताइस हजार पाँच सय बरामद भएको प्रवक्ता विश्वकर्माले बताए । शाही गुराँस गाउँपालिका–५ का हुन् ।
उनकाअनुसार वीरेन्द्रनगर १० बाट लागू औषध कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा वीरेन्द्रनगरकै २४ वर्षीय जगत शाहीलाई पक्राउ गरिएको छ । उनको साथबाट १८० मिलिग्राम खैरो धुलो पदार्थसहित उनले चलाउने भे ६ प ३५ नम्बरको मोटरसाईकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता वीरेन्द्रनगर–६ घण्टाघर नजिकैको एक घरबाट चार ग्राम १६० मिलिग्राम लागू औषध जस्तो देखिने पुडिया प्रहरीले फेला पारेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१३ का इलम बस्नेत र दैलेख भगवतीमाई गाउँपालिका–३ का २२ वर्षिय लोमन खड्कालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको प्रवक्ता विश्वकर्माले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट सात हजार नदगसमेत फेला पारेको छ ।

नेपाल कर्म । १ भाद्र २०८१, शनिबार १३:२३