सुर्खेत । खेलकुद सबै नागरिकहरूका लागि आवश्यक हुन्छ । त्यसैले अवसर पाएको खण्डमा र अपाङ्गता अनुकूलको वातावरणको सृजना हुन सके विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले पनि खेलको माध्यमबाट राष्ट्र विकासमा योगदान दिन सक्छन् । यद्यपी कर्णालीमा आगामी मंसिरमा दशौं खेलकुदको आयोजनाको तयारी गरिरहँदा अपाङ्गता भएका ह्विलचियर खेलाडीहरु आफ्नै बलमुताविक अभ्यासमा व्यस्त छन् ।

अवसर पाएमा सपाङ्ग मात्रै हैन अपाङ्गगता भएका खेलाडीहरुले पनि राष्ट्रिय योगदान पु¥याउन सक्छन् । अपाङ्गता भएका व्यक्तिहरूले न्यून मात्रमा पाएको अवसरको उपयोग गर्दै विभिन्न खेलकुदहरू खेल्दै आएका छन् दृष्टान्त त छ नै तर उनीहरुका लागि राज्यले लगानी अझै गर्न सकेको छैन् ।
विभिन्न खेलकुदहरू मध्ये ह्विलचियर बास्केटबल पनि एक हो । ह्विलचियर प्रयोगकर्ता तथा स्पाइनल कर्ड इन्जुरी अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास राज्यले गर्नुपर्ने हो । तर आफ्नै लगानीमा यति बेला कर्णालीका ह्विलचियर प्रयोगकर्ता अर्थात् स्पाइनल कर्ड इन्जुरी अपाङ्गता भएका व्यक्तिहरू अभ्यासमा जुटिरहेको खेलाडी विष्णुकुमारी शाही बताउँछिन् ।

‘घरदेखि प्रशिक्षणस्थलसम्म पुग्नै कठिन छ,’ शाहीले भनिन्, ‘समाज र राज्यको विभेद त छदैछ तैपनि खेलमार्फत अपाङ्गता भएकाले पनि केही गर्न सक्छन् भन्ने प्रमाणित गर्न अभ्यासमा जुटिरहेको छु ।’
वि.स.२०६६ सालमा नेपाल मेरुदण्ड पक्षघात खेलकुद संघले विभिन्न खेलकुदहरूको आयोजनाको शुरुवात गरेपछि नगन्य रुपमा हुने प्रतियोगितामा पनि जोडदार रुपमा खेलाडीहरु सहभागी भइरहेका छन् ।
आगामी मंसिरमा कर्णालीमा सञ्चालन गर्न लागिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ह्विलचियर बास्केटबलको सहभागी हुन सुर्खेतमा नेपाल पारा ओलम्पिक कमिटी कर्णालीले प्रशिक्षण दिँदै आएको छ । अभ्यासका लागि मैदानको अभाव र ह्विल चियर खरिद गर्न राज्यबाट सहयोग नहुँदा पनि खेलाडीहरुले हौसला बढाउन अभ्यास जारी राखेको नेपाल पारा ओलम्पिक कमिटी कर्णालीका सल्लाहकार किशोर शाहीले जानकारी दिए ।
अपाङ्गले केही गर्न सक्दैनन् भन्ने आमा नागरिकमा धारणा रहेकाले त्यसलाई चिर्न खेलाडीहरु उत्पादन गरिरहेको उनी बताउँछन् । ‘हामी प्रतिको धारणा परिवर्तन गर्न खेलेरै देखाउनु हो,’ शाहीले भने, ‘राष्ट्रिय प्रतियोगिता कर्णालीमा आयोजना गर्न लागिरहेकाले हामी राज्यलाई देखाउने छौं कि अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्छन भन्ने ।’
वीरेन्द्रनगरको लाटीकाइलीमा रहेको भ्याली म्यारिडिय एकेडमीले अपाङ्गता भएका खेलाडीहरुको लागि प्रशिक्षण मैदान दिएपछि खेलाडीहरुलाई सिक्न र अभ्यस्त हुन केही सहज बनेको छ । राष्ट्रिय खेलमा नेपाल पारा ओलम्पिक खेल समावेश गरेर अपाङ्गगता भएका खेलाडीहरु आसन्न दशौं खेलकुद प्रतियोगितामा सहभागी बन्दैछन् ।

‘पारा र राष्ट्रिय खेलकुदको हैसियता समान हो,’ नेपाल पारा ओलम्पिक कमिटी कर्णालीका अध्यक्ष किरण किशोर सापकोटा भन्छन्, ‘हामीलाई पनि राज्यले समान व्यवहार गरिदिए कर्णालीलाई चिनाउन हामी सक्षम छौं ।’
अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि राज्य स्तरबाट आवश्यक सहयोगको खाँचो छ । पूर्ण तथा अति र विशेष गरी मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरूमध्य पुरुषको तुलनामा महिलाहरू घर परिवार तथा समाज र राज्यबाट नै बढी विभेदमा परिरहेकाले उनीहरुलाई खेलको माध्यमबाट बाहिर ल्याउन आवश्यक देखिएको सापकोटा बताउँछन् ।
अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको योगदानलाई राज्यको ध्यानाकर्षण गराउन र समाजमा जनचेतना जगाउन राज्य नै गम्भीर बन्नु पर्नेमा आफै लाग्दा प्रयाप्त प्रशिक्षण गर्न नसकिएको दुःखेसो सापकोटाको छ ।
खेलकुद स्वास्थ्यका लागि सबैलाई जरुरी भएकाे र अझ ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूको बास्केटबल तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि राज्य संवेदनशील बन्न आवश्यक रहेकाे उनीकाे भनाइ छ ।
अहिले अपाङ्गता भएका बास्केट बलकाे टिमका टिम लिडर धर्म राज रावतले गरिरहेका छन् । अहिले बास्केट बलका लागि एक महिलासहित सात जना खेलाडी छन् ।
खेलकुदमा उनीहरूको योगदानको पहिचान गर्ने दायित्व कर्णालीको प्रदेश खेलकुद विकास परिषदको हो । तर परिषद्ले अपाङ्गता भएका खेलाडीहरुलाई प्रशिक्षण दिनु त के उनीहरुको संरक्षणका लगानी नै गरेको छ । त्यसैले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको खेलकुद प्रतिभालाई उजागर गर्न राज्यका सबै निकाय गम्भीर बन्न जरुरी छ ।

सुशील खड्का । १ भाद्र २०८१, शनिबार १२:०५