पिर भित्रका सत्यता ओकलेको यो गीत

सुर्खेत । तीज गीतमा मौलिकता हराउँदै गएकोमा चौतर्फी आलोचना बढी रहेको छ । पछिल्ला वर्षहरुमा कलाकारहरुले भाइरल हुने चक्करमा तीज गीतको मौलिकता मासेका मात्रै छैनन् छाडा शव्द र अभिनय गरिएको भिडियोमा विकृतीले संस्कृतिमाथि धावा बोलिरहेका छन् ।



तर तीज गीतमा छाडापान मिसाएर धमिलो पार्न खोज्नेहरुका अगाडी समाजको यथार्थता र सत्यता समावेश गीतहरु पनि केही कलाकारहरुले सार्वजनिक गरिरहेका छन् । शिक्षा, संस्कृति र समाजसेवालाई शिरोपर गरेका कलाकार प्रकाश शाहीले सार्वजनिक गरेको पिर तीज गीतमा जलवायु परिवर्तन र त्यसले पारेको असरलाई समावेश गरेका छन् ।

शिक्षालाई पेशा बनाएका शाहीले संस्कृतिलाई रुचीको विषय बनाएर हरेक वर्ष सबैलाई चेतना दिने खालका तीज गीत दर्शकलाई पस्कने गरेका छन् । यो वर्षको तीज गीत सार्वजनिक गरेका शाहीले ‘पिर’ भित्र धेरै विषयलाई सहजै बुझ्ने गरी चित्रण गरिदिएका छन् ।

पिरको अर्थ नै नोक्सानी हुँदा वा अफ्ठेरो परिस्थिति आइपर्दा हुने चिन्ता हो । यद्यपी शाहीले पिर भित्र गत जेठमा घण्टाघरको चौकमा रहेको पीपलको रुख ढलेको दृष्यदेखि सधैँ हिड्ने बाटोका खानेपानी मुहान सुकेका विषयलाई उठान गरेका छन् । सडक पूर्वाधार मात्रै विकास ठान्ने प्रवृत्तिले जथाभावी सडक खन्दा पानीको मुहान सुकेको, बाढी पहिरोले गाउँ घरमा पारेको असरलाई जोडदार समेटेका छन् ।

बोल्न नसक्ने छोरालाई आमाले विगत र अहिलेको अवस्थामा आफ्नै गाउँघरमा परेको असरलाई बयान गरेकी छन् । विश्वले नै झेलिरहेको प्रमुख समस्या जलवायुको परिवर्तन र वातावरण संरक्षणको विषयलाई गीतमा पूरै समेटिएको छ ।

सुर्खेती चेली गायिका सुनिता वुढाक्षेत्रीको स्वर रहेको गीतको शव्द शाहीकै हो भने संगीत गंगा केसीको छ । कलाकार शाही आफैले मुख्य अभिनय गरेको भिडियोममा झरना सावद र धनकली शाहीको अभिनय छ । शाहीले यसअघि पूजाको थाली, माईती देशको चुनाव, मेरो नाचो, पशुपति जलहरी लगायतका गीतहरु चर्चित छन् ।

तपाईको प्रतिक्रिया