सुर्खेत । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कर्णाली प्रदेश युवा कमिटीले तीनै तहका सरकारलाई युवा शक्ति संचित र उत्पादनमा ध्यान आग्रह गरेको छ।
जिफन्टले सुर्खेतको वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा “समृद्ध नेपाल सुखी नेपालीका लागि युवा सशक्तिकरण” भन्ने मूल नाराका साथ युवाहरुबीच खुल्ला बहस कार्यक्रम समेत गरेको छ।


विभिन्न श्रम र रोजगारी क्षेत्रसँग आवद्ध युवाहरुबीच जिफन्ट प्रदेश कार्यालयमा खुल्ला बहसका क्रममा स्वास्थ्यकर्मी सीता शाहीले महिलाहरुको सहभागितामूलक नेतृत्वमा नीतिगत अवधारणा अनुसार कार्यान्वयन हुन नसकेकोले अधिकारका लागि थप संघर्ष गर्न जरुरी भएको बताइन्।
बहसमा सहभागी युवा उद्यमी ऋषि वलीले नेपाल सरकारले युवाहरुको क्षमता पहिचान गर्न नसक्दा देश दुर्घटना तर्फ गइरहेको विचार व्यक्त गरे।

जिफन्ट प्रदेश अध्यक्ष तेज प्रकाश जिसीले वर्तमान युवाहरुको चासो र जागरुकतालाई सरकार र सरोकारवाला निकायहरुले प्राथमिकतामा राखी शतप्रतिशत नतिजा प्राप्त हासिल गर्न कार्यान्वयनमा लाग्नु पर्ने धारणा राखे।

देशको दक्ष युवाजनशक्ति लाखौंको संख्यामा वैदेशिक रोजगारमा लर्को लागेर जानु रहर नभई बाध्यता भएको जिकिर गर्दै स्वदेशमै रोजगारीको सिर्जना गरी युवा शक्ति संचित र उत्पादनलाई जोड दिनु पर्ने नीति निर्माणमा ध्यान पुर्याउन सरकारलाई ध्यानाकर्षण गराए।
स्वास्थ्य, पेशा व्यवसाय, कृषि, निर्माण र सामाजिक क्षेत्रमा संलग्न युवाहरुको सहभागिता रहेको उक्त कार्यक्रम युवा कमिटी सदस्य मीना गौतमले सञ्चालन गरेकी थिइन् भने बहस का।वा।अध्यक्ष सविता धामीको अध्यक्षतामा सम्पन्न भएको थियो।

नेपाल कर्म । २८ श्रावण २०८१, सोमबार १९:५५