४९ वर्षीया महिला र २३ वर्षीय युवाबीच प्रेम, विवाह गर्न भनेपछि हत्या

सुर्खेत । रुकुमपश्चिममा ४९ वर्षीया महिला र २३ वर्षीय युवाबीच प्रेम सम्बन्ध रहेको विवाहको दबाब दिएपछि हत्या भएको खुलेको छ । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ४ लामचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हाे ।



प्रहरीले सुशीलाको हत्या आरोपमा रुकुम पश्चिम चौरजाहरी नगरपालिका वडा नं. ११ माथिल्लो सकेंना बस्ने २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । मृतक सुशीला र प्रेमबीच डेढ वर्ष अगाडि जाजरकोट रिम्ना मेलामा चिनजान भएको र त्यतिबेला फोन नम्बर साटासाट गरेर बेला–बेला भेटघाट हुने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार सुशीला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार घाँटीमा सल बेरिएको अवस्थामा घाँटी, निधार र अन्य शरीरको भागमा चोटपटक लागेको अवस्थामा उनको शव बरामद गरिएको थियो । क्रममा साउन २१ गते सोमबार प्रेम भेटघाटका लागि सुशीलाको घरमा आएका थिए ।

साही दिन राती दुवै जनासँगै बसेको र साउन २२ गते मंगलबार बिहानै उठेर दुवै जना रिम्ना बजार गएर घुमेको प्रहरीले जानकारी दिएको छ । दुवै जना सुशीलाकै घरमा आएर बसेको र राति १२ बजेतिर सुशीलाले आफूहरुको सम्बन्धबारे घरमा र गाउँघरका मानिसहरुलाई थाहा पाइसेकको बताउँदै प्रेमलाई आफूसँग विवाह गर्न भनेपछि प्रेमले विवाह गर्न सक्ने अवस्था नभएको बताएर मार्ने मनसाय बनाएर फलामको तावा, सिलौटोलगायतका घरेलु हतियारले प्रहार गरेर सलले घाँटी बाँधेर हत्या गरेको खुलेको प्रहरीले प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा प्रेमले घटनापश्चात मृतक सुशीलाको मोबाइल साथमा लिइ आफ्नो कोठामा लुकाएर राखेको बताएपछि प्रहरीले सो मोबाइल पनि बरामद गरेको छ । प्रेमविरुद्ध कर्तव्य ज्यान मुद्दामा रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया