भु–संरक्षण दिवसमा प्रयोगात्मक टेवा पर्खाल निर्माण

सुर्खेत । जलवायु उत्थानशीलताको आधार, व्यवस्थित जलाधार भन्ने नारासहित सुर्खेतमा पनि ५१ औं भू संरक्षण दिवसमा प्रयोगात्मक टेवा पर्खाल निर्माण गरिएको छ । कम खर्चिलो प्राविधि सम्बन्धी बुधबार कार्यशाला र बिहीबार वीरेन्द्रनगर–१५ राता पहिरा सुर्खेतमा डिभिजन जलाधार व्यवस्थापन कार्यालय र युएसएडआइडीको जल जंगल परियोजनाको संयुक्त आयोजनामा सञ्चालित दुइ दिने कम खर्चिलो प्राविधि सम्बन्धी तालिम कार्यक्रममा बुधबार र बिहीबार वीरेन्द्रनगर–१५ राता पहिरा सुर्खेतमा प्रयोगात्मक टेवा पर्खाल निर्माण गरिएको हो ।




पानीको भूमिगत सञ्चिति बढाउन निर्माण गरिएको पोखरी नजिकै पहिरोको जोखिम रहेकाले त्यसको रोकथामका लागि टेवा पर्खाल निर्माण गरिएको छ । सुख्खायाममा राता पहिरामा पानीको सञ्चिति कम हुने भएकाले जलाधारले यसअघि पोखरी निर्माण गरेको थियो ।

पोखरी निर्माण गरेको किनारामा पहिरोको जोखिम देखिएकाले कार्यालय र युएसएडआइडीको जल जंगल परियोजनाले स्थानीय स्रोत साधनकै प्रयोगमा टेवा पर्खाल निर्माण गरेका छन् ।

भू संरक्षणका लागि कम खर्चिलोमा स्थानीय स्रोत साधन, सीप र जनशक्तिको प्रयोगबाट टेवा पर्खाल निर्माण गरिएको डिभिजन जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईले जानकारी दिए ।

‘तत्काल कुनै क्षेत्रमा पहिरो गएको वा क्षतीग्रस्त क्षेत्रमा यस्ता प्रविधिहरुको प्रयोगले तत्काल लागि रोकथाम गर्नमा सहयोग पुग्छ,’ चपाईले भने, ‘टेवा पर्खाल निर्माणमा कार्यालयले स्थानीयकै जनसहभागिता सीप सिकाउने र उनीहरुलाई सक्षम बनाउन वस्तीहरुमै पुगेर यस्ता खालका प्रविधिबारे जानकारी दिइरहेका छौं ।’


भू संरक्षण दिवसमा वीरेन्द्रनगर उपत्यकाका उत्तरी जलाधारमा रहेका १६ ओटा सामुदायिक वनका पदाधिकारी र सदस्यहरुको सहभागिता थियो । सहभागीहरुलाई जलाधार व्यवस्थापन कार्यहरु, मुलहरुको पहिचान, मुलाधार व्यवस्थापन र जल वायु परिवर्तनका विषयमा जानकारी गराइएको छ ।

दिवसमा सहभागीहरुलाई नै राता पहिरामा लगेर प्रशिक्षणका रुपमा टेवा पर्खाल निर्माण गर्न लगाइएको थियो । टेवा पर्खाल निर्माणमा सहभागी भैरम सामुदायिक वनका अध्यक्ष अमर कार्कीले कुनै क्षेत्रमा तत्काल क्षती भएमा त्यसको रोकथामका लागि यस्तो प्रविधि प्रभावकारी बन्ने बताए ।

‘थोरै लगानीमा क्षतीग्रस्त क्षेत्रमा यस्ता खालका प्रविधिले ठूलो राहत पुग्ने रहेछ,’ कार्कीले भने, ‘राता पहिरामा सिकेको सीप आफ्नो सामुदायका वनमा पनि लागु गर्नेगरी प्रशिक्षत हुनपाउँदा खुसी भएका छौं ।’

प्रकृतिमा आधारित समाधानका य.उपायहरु गर्नका लागि यस्ता अभ्यासले थप टेवा पुग्ने विश्वास एसएडआइडीका जल जंगल परियोजना कर्मचारी संयोजक विनोद शाहीले बताए ।

‘जलवायु परिवर्तनले विस्तारै पानीका मुलहरु सुक्दै गएकाले तिनको संरक्षणका लागि भूमिगत पानीको सञ्चिति बढाउन काम गर्दै आएका छौं,’ शाहीले भने, ‘वीरेन्द्रनगर उपत्यकाको भूमिगत पानीको स्रोत जोगाउन जलाधार क्षेत्रको सामुदायिक वनका पदाधिकारीलाई सक्षम बनाउन सहयोग आवश्यक रहेकाले जलाधार कार्यालयसँगको समन्वयमा यस्ता सचेतामुलक कार्यक्रमहरुलाई जोड दिइरहेका छौं ।’


नेपालमा भू संरक्षण विभागको स्थापना भएपछि औपचारिक रुपमा २०३१ साउन २४ भू संरक्षण दिवस मनाउने गरिएको छ । कार्यक्रममा उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशका निमित्त सचिब सेरबहादुर श्रेष्ठ, वन अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक राजेन्द्र बासुकला, डिभिजन वन अधिकृत सुर्खेका प्रमुख बसन्तबाबु श्रेष्ठ, युएसएडआइडीको जल जंगल परियोजनाका टिम लिडर भुपेन्द्र शाही लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया