सुर्खेतमा भएका दुर्घटनामा एक मृत्यु ११ जना घाईते

सुर्खेत । जिल्लामा भएका फरक फरक दुर्घटनामा एक जनाकाे मृत्यु र ११ जना घाइते भएका छन् । वीरेन्द्रनगरमा भएको स्कुल बस दुर्घटनामा ११ जना विद्यार्थी घाइते र लेकवेशीमा भएको अटाे दुर्घटनामा चालककाे मृत्यु भएको हाे ।



वीरेन्द्रनगरकाे ईत्राम खाेलामा डिभि निकेतनकाे बस चिप्लिएर खस्दा ११ जना विद्यार्थी घाइते भएका छन् ।

बुधबार साँझ वीरेन्द्रनगर नगरपालिका-८ इत्राम खोलामा ३२ जना विद्यार्थी बोकेर हिँडेको डिभि निकेतनको बस खोला तर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो ।

बसमा सवार ११ जना विद्यार्थी घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रूपेश खड्काका अनुसार घाइते मध्ये एक अवस्था गम्भीर रहेको बताए ।

बस स्कुल बिदा भए विद्यार्थीलाई घर छाड्न जाँदै गरेकाे अवस्थामा दुर्घटनामा परेकाे हाे । घाइतेहरुको उद्दार गरी स्थानीय देउती अस्पतालमा पठाइएको छ ।

यता, मदन भण्डारी राजमार्गकाे गुम-धुलियाविट सडक खण्डको  लेकवेशी नगरपालिका-३, काप्रीखोला नजिक ट्रकले अटो रिक्सालाई ठक्कर दिदा चालकको मृत्यु भएको छ ।

दशरथपुरदेखि वडा नम्वर-१ लेखफर्सातर्फ जाँदै गरेको मदेश प्रदेश ०३००१ क २४९१ नम्वरको ट्रकले विपरित दिशाबाट आईरहेको भे १ ह ६६७५ नम्वरको अटो रिक्सालाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट अटो चालक ४८ बर्षका डिलबहादुर डडालीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनास्थलमा ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया