गौशालाले जाेगाउँदै छाडा पशुचाैपायकाे ज्यान

आयआर्जनमा जोड्न नियमित चेकजाँजदेखि कृत्रिम गर्भाधान

सुर्खेत । कर्णाली प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगर क्षेत्रमा सडकमा छाडिने छाडा पशु चौपायका कारण मानविय र पशुधन दुर्घटनामा पर्दा हैरानी हुने गरेको छ । गाईले दुध दिन छाडेपछि र गोरु जोत्न नसक्ने भएपछि स्थानीयले छाडा छोड्दा दुर्घटनाको जोखिमसँगै व्यवस्थापनमा निकै चुनौती नगरपालिकाले खेपिरहेको थियो ।



तर वीरेन्द्रनगर–११ भेरी नदीस्थित समौजीघाटमा गौशाला निर्माण गरेर छाडा पशुचौपाय राख्न थालेपछि नगर क्षेत्रमा केही हदसम्म दुर्घटनाको जोखिम टरेको छ भने गौशालालाई आयआर्जनमा जोड्ने प्रयासमा नगरपालिका लागेको छ ।

सडकमा छाडा पशु चौपायका कारण सडक दुर्घटना र मानविय क्षतीहुँदा चुनौतीसँगै आलोचना खेपिरहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले व्यवस्थापनका लागि गौशाला निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।

वीरेन्द्रनगर–११ भेरी नदीस्थित समौजीघाटमा रहेको सुन्दर कर्णाली गौशालामा हाल वीरेन्द्रनगर क्षेत्रमा छाडा छाडिरहेका करिव दुई सय बढी अशक्त, घाइते पशु चौपाय राखिएको सुन्दर कर्णाली गौशालाका उपाध्यक्ष रत्नबहादुर बुढाले जानकारी दिए ।

उनकाअनुसार गौशाला व्यवस्थापनमा चुनौती थपिएको र सहयोगको आवश्यकता देखिएको छ । पहिलो चरणमा वीरेन्द्रनगर बजार क्षेत्रका सबै छाडा पशुचौपाय लगेर गौशालामा राख्ने त्यसपछि आयआर्जनका लागि रोजगारसँग जोड्ने गरी सञ्चालनको जिम्मा सहकारीले लिइएको छ ।

गौशालामा राखिएका पशु चौपायका लागि घाँसदेखि आहाराको चुनौती देखिएकाले दाताको खोजीमा आफूहरु लागेको बुढा बताउँछन् । ‘समौझी घाट आफैमा पवित्रस्थल भएकाले हरेक नागरिकलाई गौशलासँग जोड्ने गरी लागेका छौं,’ बुढाले भने, ‘पालिकासँगको साझेदारीमा सञ्चालनमा ल्याइएको गौशालालाई अझै व्यवस्थित बनाउन थप योजनाहरु बनाएर जुटेका छौं ।’ गौशालामा राखिएका गाइगोरुको मलबाट जैविक र गड्यौले मल उत्पादनसँगै नष्ल सुधार गरेर आयआर्जन गर्ने लक्ष्य नगरपालिकाको छ ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ११ ले छाडा पशुलाई गौशालामा पु¥याउने, घाइते र अशक्त पशु चौपायको नियमित उपचार गर्दै आएको पशु प्राविधिक नवराज जैशीले बताए । गौशालामा राखिएका गाईहरुमा कृत्रिम गर्भाधान गरेर उत्पादनमा वृद्धि, रोग नियन्त्रण, आर्थिक लाभ र अनुवांशिक सुधार जस्ता काम वडा कार्यालयले सहजिकरण गरिरहेको जैशीको भनाई ।

‘हप्तामा दुई पटक आएर पशुचौपायको नियमित परीक्षण गरिरेका छौं,’ जैशी भन्छन्, ‘बजार क्षेत्रमा देखिएका छाडामध्यका कतिपय पशु चौपाय घाइते र अशक्त भएकाले उनीहरुको नियमित स्वास्थ्य परीक्षण गरिरहेका छौं ।’ गौशालामै काम गर्ने कामदारलाई आयआर्जनमा जोड्ने र गौशालाबाट उत्पादन हुने जैविक मल विक्री गर्नमा गौशाला सञ्चालन गरिरहेका सहकारीसँग कार्यालयले समन्वय गरिरहेको छ ।

नगरपालिकाको आफ्नै गौशाला नहुँदा यसअघि वीरेन्द्रनगर क्षेत्रमा छाडा छाडिएका पशुचौपाय कर्णालीका हिमाली जिल्लामा पठाउने गरिएको थियो । करिव दुई करोड लागतमा गौशाला निर्माण गरेर सञ्चालनमा ल्याउदा बजार क्षेत्रमा छाडा छाडिएका र दुर्घटनाको जोखिम टरेको ११ नम्बर वडाका वडाध्यक्ष खिमलाल देवकोटा बताउँछन् । सञ्चालनसँगै व्यवस्थापनमा केही चुनौती देखिएकाले दीर्घकालिन समाधान गर्न सहकारीसँग समन्वय गरेर अघि बढीरहेको उनले जानकारी दिए ।

प्रदेशको भू तथा जलाधार व्यवस्थापन कार्यालयले पशुचौपायलाई खानेपानी सहजताका लागि गौशाला नजिकै कृत्रिम ताल निर्माण गरिदिएको छ । तालमा वर्षात्को पानी जम्मा हुनेगरी चेकड्याम निर्माण गरेपछि सुख्खा महिनामा पशुहरुका लागि सहजता हुने र तालदेखि तल चिस्यानका कारण घाँस उम्रिनमा सहयोग पुग्ने अपेक्षा राखिएको छ । छाडा चौपायाले स्थानीयले लगाएको तरकारी र बाली खाइदिने, सडकमा सवारी आवागमनमा अवरोधसँगै दुर्घटनाको जोखिम रोक्नमा गौशालाले सहयोग पु¥याएको छ ।

तपाईको प्रतिक्रिया