सुर्खेत । आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरे अनुसार हरेक वर्ष अङ्ग्रेजी महिनाको अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाउने गरिएकाे हाे ।
कर्णालीमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ मूल नाराका साथ यस वर्षको स्तनपान सप्ताह मनाउन लागिएको हो।


बालबालिकालाई ६ महिना पूरा नभएसम्म आमाको दूध अनिवार्य रुपमा खुवाउनुपर्ने र पूर्ण स्तनपान गराउनुपर्नेमा विशेष जोड दिँदै स्तनपान सप्ताह मनाइन्छ। तर, नेपालमा ६ महिनासम्म बालबालिकालाई पूर्ण स्तनपान गराउने आमाहरूको सङ्ख्या घट्दो क्रममा रहेकाले चिन्ता बढाएको छ। विशेषगरी शिक्षित आमाहरूमा नै पूर्ण स्तनपान नगराउने दर बढी रहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएकाे छ ।
निर्देशनालयकाअनुसार स्तनपान एउटा आमाले आफ्नो बच्चाको लागि गर्नसक्ने एक महत्त्वपूर्ण र महान कार्य हो। जसले गर्दा बच्चालाई चहिने सम्पूर्ण खाना, पोषकतत्व र विभिन्न संक्रमणबाट बच्न चाहिने एन्टिबडी प्राप्तिका लागि मद्दत पुग्दछ।
प्रभावकारी स्तनपानका लागि के जरुरी छ :
–सबै आमाले बच्चा जन्मिनेबित्तिकै जतिसक्दो छिटो, सु्त्केरी भएको १ घण्टाभित्रै आफ्नो दूध खुवाउनु पर्दछ।
–पहिलो ६ महिनासम्म आमाको दूध मात्रै खुवाउने र त्यसपछि २ वर्षसम्म थप आहार सहित स्तनपान लाई निरन्तरता दिनुपर्दछ।

विश्व स्वास्थ्य संगठनका अनुसार skin-to-skin contact, rooming -in and kangaroo mother care जस्ता कार्यले नवजात शिशुको अस्तित्व र बिरामीपनमा महत्त्वपूर्ण भूमिका खेल्दछन्।
प्रभावकारी स्तनपानले बच्चाको स्वास्थ्य मात्र नभएर आमाको शरिरीक तथा मानसिक स्वास्थ्यलाई पनि बलियो बनाउन सहयोग पुग्दछ। सुत्केरी भएलगत्तै गराइने स्तनपानले बच्चा जन्माइसकेपछिको पाठेघर खुम्चिने प्रक्रियालाई बढावा दिई रक्तश्रापमा कमी ल्याइ कहिले काहिँ ज्यान जोगाउन पनि मद्दत पुर्याउँदछ।
स्तनपानले गर्दा बच्चालाई हुने फाइदाहरु:
–आमाको दूध बच्चाको लागि शुद्ध खाना हो, पचाउन सजिलो, सजिलै उपलब्ध गराउन सकिन्छ।
–बच्चाको वृद्धि विकासका लागि आवश्यक सबै प्रकारका पोषक तत्वहरू आमाको दूधमा हुने गर्दछन्।
–यसमा एन्टिबडीसमेत हुने भएकाले विभिन्न संक्रमणबाट बचाउँछ।
–स्तनपानले मोटोपन, दम तथा एलर्जीको जोखिमलाई कम गराउँछ।
–आमाको दूधले संज्ञानात्मक विकासको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्दछ।
आमालाई हुने फाइदाहरु:
–सुत्केरी भएलगत्तै गराइने स्तनपानले बच्चा जन्माइ सकेपछिको पाठेघर खुम्चिने प्रक्रियालाई बढावा दिई रक्तश्रापमा कमी ल्याइ कहिले काहिँ ज्यान जोगाउन पनि मदत पुर्याउँछ।
–बच्चा जन्मेपछि धेरैजसोमा देखिने पोस्टपार्टम डिप्रेसनमा कमी।
–भविष्यमा हुनसक्ने स्तन तथा अन्य क्यान्सरको जोखिममा न्यूनीकरण।
–बच्चासँगको आत्मिय बन्धनको विकास।
यी धेरै फाइदाहरु सँगसँगै घरपरिवारसँगको सम्बन्धको विकास, परिवारको आर्थिक तथा सामजिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। आमा र बच्चाको स्वास्थ्यसँगै प्रभावकारी स्तनपानले एउटा स्वस्थ समाज र देशको विकास गर्न टेवा पुर्याउने भएकाले हामी सबैले आफ्नो व्यक्तिगत, संस्थागत तथा हरेक तवरले स्तनपान प्रवर्द्धनका लागि एकजुट भै लाग्न जरुरी देखिन्छ।

नेपाल कर्म । १७ श्रावण २०८१, बिहीबार १४:३५