झण्डै आठ लाख राजश्व छली ल्याएको चीनीसहित ट्रक नियन्त्रण

सुर्खेत । राजश्व छलेर ल्याएको चीनी बोकेको ट्रकलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँचका क्रममा वीरेन्द्रनगरको बाँगेशीमलबाट एलपी ट्रकसहित चीनी र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



कञ्चनपुरको पुनर्वासबाट जुम्ला लैजादै गरेको चीनी राजश्व छली भएको आंशकमा राजश्व अनुसन्धानको कार्यालय कोहलपुर बाँकेलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता वीरेन्द्र वीर विश्वकर्माले नेपालकर्मलाई जानकारी दिए ।

उनकाअनुसार चीनी लोड भएको कर्णाली प्रदेश ०२–००१ ख ०२५४ नम्बरको एलपी ट्रक र चालक राजकुमार थारुलाई नियन्त्रणमा लिएर बाँके पठाइएको हो ।

चेकजाँचका लागि राजश्व कार्यालयकै कर्मचारी सुर्खेत आएको र चेकजाँच गर्दा बिल÷विजक नभएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रवक्ता विश्वकर्माको भनाई छ ।

प्रहरीले प्रति बोरा ५० केजीको रहेको कुल संख्या १५६ बोरा चीनी रहेको जनाएको छ । नियन्त्रणमा लिएको चीनीको अन्दाजी मूल्य सात लाख ८० हजार प्रहरीले जानकारी दिएको छ ।

पुनर्वासमा रहेको उख्खु मिलबाट उक्त चीनी गत फागुनमा खरिद भएको देखिएपनि यतिका समयसम्म किन विक्री नभएको भन्ने केही शंकाका दायरा देखिएपछि नियन्त्रणमा लिनु परेको प्रवक्ता विश्वकर्माले बताए ।

तपाईको प्रतिक्रिया