दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’ले बक्सअफिसमा राम्रो व्यपार गरेको छ। यस फिल्मले दुई सातामा ४ करोड ६३ लाख कमाइ गरेको हो।
निर्माण टिमले फिल्मको ग्रस कलेक्सन सार्वजनिक गर्दै जानकारी गराएको छ। आजबाट यो फिल्म तेस्रो सातामा प्रवेश गरेको छ। अनिल बुढा मगर डेब्यु निर्देशित फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु) लगायतको अभिनय छ।
जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्। पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैँले लेखेका हुन्।
पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्। फिल्मको वितरक रोहित कट्टेल हुन्।
नेपाल कर्म । १२ श्रावण २०८१, शनिबार १४:३६