कर्णालीमा भ्याली मेरिडियनले एसइईमा जोगाएको साख

चार निजिसहित २१ सामुदायिक विद्यालय निल

सुर्खेत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा निजि लगानीमा स्थापना भएको सुर्खेतको भ्याली मेरिडियन एकेडेमीले कर्णालीको साख जोगाएको छ । यस विद्यालयबाट एसइईमा सहभागी भएका छात्र दिनेश शर्मा कर्णाली प्रदेशबाट एकमात्र चार जिपिए ल्याउने विद्यार्थी बनेका छन् । कर्णालीबाट झण्डै ३५ हजार विद्यार्थी एसइईको परीक्षामा सहभागि हुँदा शर्माले मात्र चार जिपिए प्राप्त गरेका छन् ।



अधिकांश निजी विद्यालय नाफामुलकमा केन्द्रित रहदा भ्याली मेरिडियन एकेडमीले भने शैक्षिक गुणस्तर सुधारका लागि कोटा प्रणालीद्वारा अध्ययन गराउने गर्दछ । एउटा कक्षामा २० जनाको कोटा निर्धारण गरेर अध्ययन गराउने भ्याली मेरिडियनले विद्यार्थी संख्या बढाएर कमजोर शिक्षा दिनुभन्दा थोरै विद्यार्थीलाई राम्रो शिक्षा दिने रणनीति लिदै आएको छ ।

चार निजिसहित २१ सामुदायिक विद्यालय निल
सुर्खेतका चार निजिसहित २१ सरकारी लगानीका सामुदायिक विद्यालय यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यार्थीसँगै फेल भएका छन् । यी विद्यालयबाट एसइई परीक्षामा सहभागी चार सय २६ जना विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी नन ग्रेडेड भएका छन् । जसमा १७ सरकारी विद्यालय रहेका छन् ।

वीरेन्द्रनगर–१२ नेवारेमा रहेको अमर ज्योति माध्यमिक विद्यालय यस वर्षको एसइई परीक्षामा खुलातर्फ (शैक्षिक संस्थामा नगई लिइने शिक्षा) नतिजाविहन बनेको छ । अमर ज्योतिको यो नतिजा नियमिततर्फ (नियमित कक्षामा उपस्थित भई लिइने शिक्षा) को भने होइन ।

अमर ज्योतिसँगै वीरेन्द्रनगरका चार सरकारी लगानीका सामुदायिक विद्यालयसहित १७ निजि लगानीका नाम चलेका विद्यालयहरु नतिजाविहिन बनेका छन् । वीरेन्द्रनगरमा ठुलो लगानी र राम्रो शैक्षिक वातावरण रहेको दावि गर्ने संस्थागत विद्यालयले एसइईमा आफ्नो साख जोगाउन सकेनन् ।

अमर ज्योतिबाट खुलातर्फ २३ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा २३ जना नै नन ग्रेडेड अर्थात माथिल्लो कक्षामा पढ्न नपाउने भएका छन् । यस्तै, नेपाल राष्ट्रिय माध्यमिक विद्याय र श्री नेरा मावि पारेगाउँ नतिजाविहिन बनेका छन् ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यायबाट २१, श्री नेरा मावि पारेगाउँबाट ६ जना सहभागी थिए । तर कुनैपनि विद्यार्थी माथिल्लो कक्षामा अध्ययन गर्न नपाउने गरि अंक ल्याएका छन् । यता, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिसापानीबाट २८ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएकोमा एक जना विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउने गरी अंक प्राप्त गरेका छन ।

यस्तै, बराहताल गाउँपालिकामा एक विद्यालय नतिजाविहिन भएको छ । बराहताल–८, कुनाथरीस्थित जन जागृति माध्यमिक विद्यालयबाट एसइई परीक्षामा १६ जना विद्यार्थी सहभागी भएकोमा सबै विद्यार्थी फेल भएका छन् । पञ्चपुरी नगरपालिकाको बुढाखालिमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट २१ जना विद्यार्थी सहभागी भएकोमा कसैले पनि ग्रेड प्राप्त गर्न सकेनन् ।

भेरीगंगा नगरपालिकाका तीन वटा सामुदायिक विद्यालय नतिजामा फेल भएका छन् । सबैभन्दा धेरै ५६ जना विद्यार्थी रहेको सरस्वती माध्यमिक विद्यालय ढुङ्गीखोलाले नतिजा प्राप्त गर्न सकेन ।

भेरीगंगा–२, मोहाटीबाट २१ र यही वडाको नेरा मावि लेखपराजुलबाट २४ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए । तर, सबै विद्यार्थी अनुत्तीर्ण भएका छन् । गुर्भाको नगरपालिकाको सरस्वती माध्यमिक विद्यालयबाट ४९ जना विद्यार्थी सभागी रहेकोमा सबै विद्यार्थी फेल भएका छन् ।

चिङ्गाड गाउँपालिकाका दुई वटा विद्यालय पनि नतिजामा सून्य भएका छन् । चिङ्गाडको नेरा मावि मटेला र नेरा मावि धौलाचाखाचौर नतिजाविहिन छन् । यी विद्यालयबाट क्रमश ४० र ३१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए ।

लेकबेशी नगरपालिकाको सरस्वती माध्यमिक विद्यालय सिमदमार पनि विद्यार्थीसँगै फेल भएको छ । यस विद्यालयबाट यसवर्षको एसइईमा नौ जना विद्यार्थी सहभागी भएका थिए । यस्तै ३१ जना विद्यार्थी सहभागी रहेको सिम्ता गाउँपालिकाको भगवती माध्यमिक विद्यालय घान्द्रा पनि नतिजाविहिन बनेको छ ।

चौकुने गाउँपालिकाका तीन वटा सामुदायिक विद्यालयहरु एइई नतिजामा शून्य भएका छन् । जसमा बेतानमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चौकुने–५, धनरासको नेरा मावि र चौकुने–८, भट्टेसेराको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेका छन् ।

यी विद्यालयहरुमा क्रमश नेरा मावि बेतानबाट २३, नेरा मावि धनरासबाट आठ र नेरा मावि भट्टेसेराबाट २३ जना विद्यार्थीहरु एसइई परीक्षामा सहभागी भएका थिए । यस वर्षको एसइई परीक्षामा सात हजार नौ सय ७९ परीक्षार्थी रहेको सुर्खेतबाट दुई हजार ६ सय ९२ जना उत्तीर्ण हुँदा पाँच हजार दुई सय ८७ विद्यार्थी फेल भएका छन् ।

अर्थात कुल विद्यार्थी मध्ये ३३.७४ प्रतिशतमा मात्रै विद्यार्थी माथिल्लो कक्षामा पढ्न पाउने गरी उत्तीर्ण भएका छन् । प्रदेश राजधानी सुर्खेतका सामुदायिक विद्यालयको यो उदेक लाग्दो गुणस्तरले सिङ्गो कर्णालीको प्रतिनिधित्व गर्दछ ।

२०७१ को एसएलसी (हालको एसइई) मा सहभागी पाँच लाख ४१ हजार तीन सय ८९ परीक्षार्थीमध्ये तीन लाख ४९ हजार एक सय २२ विद्यार्थी अनुत्तीर्ण भएका थिए, जसमध्ये सामुदायिक विद्यालयका विद्यार्थीको संख्या ७१.२६ प्रतिशत अर्थात् दुई लाख ४८ हजार सात सय ८० थियो ।

उतिबेला १०० पूर्णाङ्कमा पास हुनका लागि ३२ अंक ल्याउनुपर्ने हुन्थ्यो । कुनै एक विषयमा मात्रै पनि ३२ नम्बर नल्याएको खण्डमा त्यो विद्यार्थीले कक्षा ११ मा पढ्न पाउँदैनथ्यो ।

नौ वर्षपछिको झण्डै उस्तै परीक्षा प्रणालीमा सामुदायिक विद्यालयको नतिजा झन् खस्किएको छ । एसइईको यो नतिजाले राज्यको सार्वजनिक शिक्षा सुधारका क्षेत्रमा भइरहेको ठूलो धनराशि खेर गइरहेको मात्रै देखाउँदैन, समग्र नेपालमा सामुदायिक विद्यालयले दिने शिक्षा प्रणालीको गुणस्तर नै तीव्र गतिमा खस्कँदै गएको पुष्टि गर्छ ।

नाम चलेका निजि विद्यालय पनि निल
वीरेन्द्रनगरमा खासगरी लगानी र शैक्षिक वातावरणका हिसावले एकदमै राम्रो श्रेणी मापन गर्ने निजि लगानीमा सञ्चालित चार विद्यालयहरु एसइईको नतिजामा फेल भएका छन् ।

जसमा ब्राइट ल्याण्ड एकेडेमी पिपिरा, गोल्डेन बर्ड एकेडेमी, सनसाईन एकेडेमी वीरेन्द्रनगर–१ र निकोलस इङ्लिस मिडियम स्कूल वीरेन्द्रनगर–४ रहेका छन् । ब्राइट ल्याण्डबाट आठ, गोल्डेन बर्डबाट १४, सनसाईनबाट पाँच र निकोलसबाट पाँच जना विद्यार्थी एसइईमा सहभागी थिए । तर, कसैले पनि कक्षा ११ मा पढ्न पाउने गरी नतिजा हाँसिल गर्न सकेनन् ।

किन भए यति ठुलो संख्यामा विद्यालय फेल ?
यस वर्षको एसइई परीक्षामा आफ्नो विद्यालय नतिजाविहिन बन्नुको विविध कारण देख्छन् बराहताल गाउँपालिका–८, दमारस्थित जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक टिकाराम सुवेदी । जसको पहिलो कारण अभिभावक र विद्यार्थीमा पढाईप्रति ध्यान नजानु र विषयगत शिक्षकको अभावका कारण आफ्नो विद्यालय पहिलो पटक नतिजाविहिन बन्न पुगेको सुवेदीले बताए ।

‘एसएलसी सुरु भएयता पहिलो पटक विद्यालय नतिजाविहिन बनेको छ,’ उनी भन्छन्, ‘विद्यालयले एसइईलाई लक्षित गरी निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था मिलाएका थियौं । त्यो कक्षामा विद्यार्थी उपस्थित भएनन्, अभिभावकले पनि यसमा ध्यान पु¥याउन सक्नु भएन । अर्को कुरा हामीले गणीत, विज्ञानका विषयगत शिक्षक नै बेलैमा पाएनौं जसको नतिजा उल्टो आयो ।’

अघिल्ला वर्षहरुमा गरिने मूल्यांकन कै आधारमा पास भइन्छ भन्ने मनोविज्ञान विद्यार्थीमा पर्नु र यसलाई शिक्षकले बुझाउन नसक्नुको परिणाम देख्छन् सुवेदी । विषयगत शिक्षकका लागि विद्यालयले धेरै पटक विज्ञापन गरेका भएपनि शैक्षिक सत्रको अन्तिममा मात्रै गणीत विषयका शिक्षक आएको तथा विज्ञान विषयका शिक्षक सुत्केरी बिदामा बस्दा विद्यालयको गुणस्तर खस्कन गएको दावी प्रधानाध्यापक सुवेदीको छ । यस वर्षको नतिजालाई लिएर आउदा दिनहरुमा विशेष शैक्षणिक योजना बनाइने सुवेदीले बताए ।

यसपालिको माध्यमिक शिक्षा परीक्षाको मूल्यांकन प्रणालीले विद्यार्थीलाई मात्रै नभई शिक्षकलाई समेत झुक्याउने गरी तय गरिँदा ठूलो संख्यामा विद्यार्थी फेल हुन पुगेको बताउँछन् सुर्खेतको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सिग्देल ।

‘यसअघि १.६ ल्याएपछि माथिल्लो कक्षा पढ्न पाइहालिन्छ भनेर विद्यार्थीले त्यहीअनुसार तयारी गरे,’ सिग्देल भन्छन्, ‘पहिले १.६ आएपछि माथिल्लो कक्षा पढ्न पाउने अवस्था थियो तर अहिले आएर सबै विषयमा ३५ नम्बर ल्याउनैपर्ने नियम बनाइयो, यही कुरा सुरुमा गरेर ‘पोहोरपरारको जस्तो होइन है’ भनेर भनिदिएको भए हुन्थ्यो, यसो नहुँदा विद्यार्थीसँगै शिक्षक पनि झुक्किए भन्छु म त ।’

सामुदायिक विद्यालयमा बढी विद्यार्थी फेल हुनुमा शिक्षक पनि जिम्मेवार रहेको सिग्देलले बताए । उनले भने, ‘१.६ ल्याएपछि विद्यार्थी पास भइहाल्छ, ग्रेड पनि देखिन्छ भन्नेपट्टि गएर हामीले अलि राम्ररी पढाएनौँ कि भन्ने पनि हो र अर्को कुरा, हाम्रा नानीबाबुहरूमा पढ्ने बानी पनि एकदमै घटेको छ ।’

कोरोनापछि सुरु गरिएको मूल्यांकन प्रणालीले विद्यार्थीमा पढ्ने बानी घट्नु, अधिकांश विद्यार्थी अभिभावकको अधीनमा नरहनु तथा अभिभावकले आफ्ना छोराछोरीलाई समय नदिनुलगायतका कारणले यसपालि बढी विद्यार्थी फेल भएको बताउँछन् प्रअ सिग्देल । यसमा अभिभावक, विद्यार्थी र शिक्षकका बिच एक खालको प्रतिवद्धता गरेर अभिभावकले समय दिने, विद्यार्थीले पढ्ने र शिक्षकले पढाउने वातावरण सिर्जना गरे मात्रै गुणस्तरमा सुधार आउने उनले बताए ।

राज्यले अनुगमन र मूल्यांकनको पाटोलाई कमजोर बनाउँदा सानोसानो कुराले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर ओरालो गतिमा रहको बताउँछन् लामो समय शिक्षण पेशामा संलग्न रहेका जानकार गेहेन्द्रप्रसाद दाहाल ।

अभिभावकले स्कुलले पढाइदिए हुन्छ, हाम्रो दायित्व केही हुँदैन भन्ने चेत राख्नु, विद्यार्थीमा पढ्ने बानीको विकास नहुनु, विषयगत शिक्षकको अभाव हुनु, २१ औँ शताब्दी सुहाउँदो शिक्षा नीति नहुनु, विद्यार्थीको अनुपातमा कतै शिक्षक बढी हुने, कतै कम हुने तथा शिक्षाक्षेत्रमा राज्यको एकल अंकको लगानीले शिक्षाको गुणस्तर कदापी माथि उठ्न नसक्ने दाहाल बताउँछन् ।

तपाईको प्रतिक्रिया