रुकुमपश्चिम । सरकारी कार्यालयमा सेवा लिन जाँदा सेवाग्राहीहरुले सास्ती मात्रै खेप्दैनन् एकै दिनमा हुने काम हप्तौंसम्म कुर्नुपर्ने बाध्यता छ । कार्यालयले प्रदान गर्ने सेवाबारे सेवाग्राहीलाई बुझाएर छिटो, छरितोसँगै उत्तरदायी र जवाफदेही सेवा दिनुपर्ने दायित्व सरकारी कर्मचारीको हो । सरकारी कार्यालयमा सहजिकरण गरिदिएको विरलै भेटिन्छ । तर रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जवाफदेही र उत्तरदायी बन्न एकीकृत सेवा प्रवाह गरेपछि सेवाग्राही उत्साही छन् ।

भर्खरै रोपेको धानबालीमा डडुवा खालको रोग लागेपछि रुकुम पश्चिमका हृर्दबहादुर नेपाली औषधी लिन चौरजहारी नगरपालिका पुगे । नगरपालिकाको मुल ढोकामै रहेको सोधपुछ कक्षका कर्मचारीले टोकन लिन लगाए । टोकन लिएर उनी नजिकै रहेको एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुगे ।

जहाँ कर्मचारीले उनको समस्या सुने । त्यसपछि ३० मिनेटमा काम हुने भन्दै कर्मचारीले उनलाई सेवाग्राही प्रतिक्षा कक्षमा आराम गर्न भने । भित्तामा डिस्प्ले स्किृन राखिएको थियो । त्यसैमा हरेक सेवाग्राहीको फाइल र काम कुन शाखामा पुग्यो भन्ने देखाइएको थियो । केही मिनेटमै कर्मचारीले माइकमा हृर्दको नाम बोलाए ।
धान खेतीमा किराले हैरान बनाएपछि उपाय खोज्दै पुग्नु भएका उहाँलाई नगरपालिकामै रहेको कृषि सेवा शाखामा जान भनियो । कृषि शाखामा किरा नष्ट गर्ने विषादी र प्रयोग गर्ने उपाय सिकाएर पठाए । विगतभन्दा फरक तरिकाबाट सहज र छिटो सेवा पाउँदा हृर्द मात्रै हुने नगरपालिका पुग्ने सेवाग्राही नै अचम्मित बने ।

सेवाग्राहीलाई सहज र कम समयमै सेवा उपलब्ध गराउन चौरजहारी नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेको हो । कार्यालय स्वःचालन प्रणालीमार्फत काम थालेको नगरपालिकाले स्मार्ट स्थानीय सरकारको अनुभूति दिन थालेको हो सेवाग्राही डण्डप्रसाद शर्माले बताए ।
‘पालिका भित्रैका टाढाका नागरिक सेवा लिन आउँदा एक दिन चौरहजारीका होटलमा बस्नुपर्ने बाध्यता थियो,’ शर्माले भने, ‘पालिकाले एकीकृत सेवा लागू गरिदिँदा सेवा लिन आउने हामी जस्त नागरिकलाई धेरै सहज बनाइदिएको छ ।’

नगरपालिकामा पुग्ने सेवाग्राहीलाई सुरुवातमा सोधपुछ कक्षमा सहजीकरण गरिन्छ । त्यसपछि सेवाग्राहीले भेटघाट वा कामको टोकन लिन्छन् । जनप्रतिनिधि र कर्मचारीलाई भेट्न पुगेका सेवाग्राहीलाई १५ मिनेट भन्दा बढी समय कुर्न नपर्ने व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए । कामका लागि पुगेका सेवाग्राहीहरु एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुग्छन् ।
केन्द्रमा पुगेपछि कार्यालय स्वःचालन प्रणालीमार्फत सेवाको प्रकृति अनुसार दर्ता गरिन्छ । फाइल दर्ता भएपछि केन्द्रका कर्मचारीले नै फाइलहरुको बर्गीकरण गर्दै सम्बन्धित शाखालाई काम सम्पन्न गर्नका लागि समय निर्धारण गर्दछन् ।
कार्यालयमा रहेका हरेक शाखाले आफ्नो शाखाका लागि आएको कामबारे सिस्टममार्फत नै जानकारी पाउँछन् । त्यही अनुसार शाखाहरुले तोकिएको समयमा काम सम्पन्न गर्दछन् । यो प्रक्रियाहरु सबै सेवाग्राहीले प्रतिक्षा कक्षमा बसेर डिस्प्लेमा हेर्न पाउँछन् ।
जहाँ काम सकिएको चरणहरुमा हरियो संकेत देखिन्छ । प्रतिक्षा कक्षमा रहेका सेवाग्राहीले शोफामै बसेर सेवा पाउँछन् । यदी कागजात नपुगेको अवस्थामा भने सुरुवातमै सेवाग्राहीलाई आवश्यक प्रमाण जुटाउन लागि आग्रह गरिन्छ ।
सेवाग्राहीले नगरपालिकाको सेवाबारे कुनै गुनासो भएमा गुनासो पेटिकामा आफ्नो प्रतिक्रिया दिने व्यवस्था मिलाइएको छ । एकीकृत सेवा दिन थालेपछि टाढाबाट आउने नागरिकलाई बास नै बस्नुपर्ने बाध्यता हटेको छ भने काम गराउन नमस्कार नै गर्नुपर्ने अवस्था अन्त्य भएको नगर उप प्रमुख ईश्वरी शर्मा बि.एम.ले जानकारी दिइने ।
प्रदेश सरकारले पहिलो चरणमा नमूनाको रुपमा यूएनडीपी नेपालसँगको सहकार्यमा कर्णालीका पाँच वटा पालिका छनौट गरेको छ । हाल रुकुमपश्चिमको चौरजहारी, सुर्खेतको पञ्चपुरी र दैलेखको दुल्लु नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेका छन् ।
बाँकी २ वटा पालिकाले पनि चाँडै यो सेवा सुरु गर्ने तयारी गरिएको छ । कर्मचारीहरु पनि सेवाग्राहीप्रति उत्तरदायी र जवाफदेही बनाउने यो खालको एकीकृत सेवाका अन्य पालिकाहरुमा लागू गरेर नागरिकहरुले खेपिरहेको सास्तीलाई सहज बनाउन आवश्यक छ ।

सुशील खड्का । ११ श्रावण २०८१, शुक्रबार ०७:४१