गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री वीरेन्द्र महतोले राष्ट्रिय परीक्षा बोर्डमा छोराको शैक्षिक प्रमाणपत्रको समकक्षता (इक्युभ्यालेन्ट) लिनका लागि ५ हजार घुस दिएको प्रकरणबारे छानबिन गर्न निर्देशन दिइसकेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले पाँच हजार घुस दिएको प्रकरणको तत्काल छानबिन गर्न निर्देशन दिइसकेको र यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए ।


बैठकमा कांग्रेस सांसद राजेन्द्र केसीले ५ हजार घुसको प्रकरण के हो भनेर गृहमन्त्रीलाई प्रश्न गरेका थिए ।
त्यसबारे जवाफ दिँदै लेखकले भने, ‘मैले व्यक्तिगत रूपले त्यो कुरा सोधेर त्यो मान्छे चिनाउनका लागि सहयोग गर्न पनि आग्रह गरेको छु । प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्नका लागि आवश्यक निर्देशन दिइसकेको छ । यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ,’ लेखकले भने ।

नेपाल कर्म । ८ श्रावण २०८१, मंगलवार १५:४०