विष्णु र शंकरको शक्ति संघर्षले लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यको भाग्योदय

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको आन्तरिकको शक्ति संघर्ष प्रभाव परेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको आन्तरिक प्रतिस्पर्धाले संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्री बन्ने मौका गुमाएका छन् । गिरी उपाध्यक्ष पौडेलनिकट मानिन्छन् । संसदीय दलका नेता गिरीको नभई उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने निश्चित भएको छ । आचार्य महासचिव शंकर पोखरेलनिकट नेता हुन् ।



यसअघि संसदीय दलको नेतामा पनि आचार्य र गिरीले दाबी गरेका थिए । तर, पछि सिनियर नेता भएकाले गिरीलाई संसदीय दलको नेतामा सर्वसम्मत गरिएको थियो । एमालेमा पौडेल समूह लुम्बिनीमा निकै बलियो मानिएको थियो । एमालेको प्रदेश कमिटीको चुनावमा पनि पौडेल समूहका राधाकृष्ण कँडेल अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष केपी ओली र महासचिव पोखरेलले सर्वसम्मतका लागि निकै प्रयास गर्दा पनि पौडेल समूहले नमानेपछि प्रदेश कमिटीमा चुनाव भएको थियो । पोखरेल समूहका हरि रिजाललाई २ मतले पराजित गर्दै पौडेल समूहका कँडेल निर्वाचित भएका थिए । खसेको ९६५ मतमध्ये अध्यक्षमा निर्वाचित कँडेलले ४७९ मत पाएँदा रिजालले ४७७ मत पाएका थिए ।

लुम्बिनीमा पौडेल र पोखरेल समूहबीच देखिएको प्रतिस्पर्धा देशव्यापी बनेको छ । अन्य प्रदेश कमिटीको अलवा जिल्लामा पौडेल र पोखरेल समूहबीच प्रतिस्पर्धा भइरहेको छ । पार्टीभित्र शक्तिआर्जनका क्रममा लुम्बिनीका मुख्यमन्त्रीमा पनि पौडेल र पोखरेल समूहबीच प्रतिस्पर्धा थियो । पौडेल समूहले गिरीलाई नै मुख्यमन्त्री बनाउन खोजेको थियो ।

तर, पोखरेल समूहले आचार्यलाई अगाडि सार्‍यो । त्यसबीचमा पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएपछि लुम्बिनीको मुख्यमन्त्री पोखरेलको भागमा परेको चर्चा पनि एमालेमा हुन थालेको छ । केन्द्रीय सरकारमा अर्थमन्त्री हुने, पार्टीको प्रदेश कमिटी पनि पौडेल पक्षकै भएको बेलामा मुख्यमन्त्री पनि पौडेल समूहका गिरी भएमा लुम्बिनीमा पोखरेल समूहका लागि निकै सकसपूर्ण हुने अवस्था आउने थियो ।

त्यही आकलनपछि बरु लुम्बिनी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिने तर पौडेल समूहलाई नदिने लाइन पनि पोखरेल समूहमा थियो । तर, जब पौडेल समूहले मुख्यमन्त्रीको दाबी छोड्ने अवस्था आयो, त्यसपछि पोखरेलले आचार्यलाई अगाडि सारेका हुन् । यसले लुम्बिनीमा पौडेल र पोखरेलबीच लुम्बिनीमा शक्ति बाँडफाँटमा समझदारी भएको चर्चा एमालेमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया