रवि लामिछानेलाई विनोद चौधरीको जवाफ–संसदको रोस्ट्रमलाई कुण्ठा पोख्ने थलो नबनाउनुस्

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आइतबारको संसद बैठकमा आफूप्रति लक्षित गरी तथ्यहीन र कुण्ठापूर्ण अभिव्यक्ति दिएको बताएका छन् ।



अर्बपति व्यापारीसमेत रहेका चौधरीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रतिक्रिया दिएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा का सभापति रवि लामिछानेको नाम नलिइकनै उनलाई जवाफ फर्काएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापूर्ण अभिव्यक्ती दिएका छन्, चौधरीले लेखेका छन्, जसका प्रति मेरो घोर आपत्ति छ ।

लामिछानेले आइतबारको संसद बैठकमा चौधरीलाई लक्षित गरी टिप्पणी गरेका थिए । त्यसैको जवाफ चौरीले फर्काएका हुन् । विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी हिजो संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन, रविको नाम नलिइकन चौधरीले लेखेका छन् ।

साथै उनले रविलाई लक्षित गर्दै सत्ताको चरम दुरुपयोग गरी आफूमाथि प्रहरी प्रशासन लगाएर चर्को प्रतिशोध साँधिएको पनि तर्क गरेका छन् । विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दबाब दिएर ममाथि जुन प्रतिसोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो, उनले लेखेका छन् ।

साथै चौधरीले संसदलाई आफ्नो कुण्ठा व्यक्त गर्ने थलो नबनाउन पनि आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रूपमा जसरी राजनीतीकरण गर्ने दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ, चौधरीले लेखेका छन्, संसद्को रोस्ट्रमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरुमाथि प्रहार गर्ने थलो नबनाउन पनि आग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया