कर्णाली प्रदेशमा माओवादीका चार मन्त्री सरकारबाट बाहिरिँदै

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । सरकारमा माओवादीबाट सहभागी चार मन्त्रीले आज राजीनामा दिँदै छन् ।



केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै एमाले नेता यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा माओवादीबाट सहभागी आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्रबहादुर केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाही पदमुक्त हुन लागेका हुन् ।

उनीहरूले मुख्यमन्त्री कँडेललाई राजीनामा बुझाउने तयारी गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रणसिंह परियारले बताए । यद्यपि, माओवादी संसदीय दलले भने हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छैन ।

मन्त्री परियारका अनुसार केन्द्रमा समीकरण फेरिएसँगै राजीनामा पत्र बोकेर हिँडेको भए पनि संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सरकारबाट बाहिरिने विषयमा निर्णय गरेका छैनन् ।

‘केन्द्रको प्रभाव प्रदेशमा पनि पर्ने हुँदा हामीले सुरुदेखि नै राजीनामा पत्र बोकेर हिँडेको अवस्था हो,’ उनले भने, ‘आज हामीले राजीनामा दिने तयारी गरेका छौँ, दलका नेता काठमाडौं हुनुहुन्छ, उहाँले मेलमा समर्थन फिर्ताको पत्र पठाउँदै हुनुहुन्छ । त्यो पत्र प्राप्त हुनासाथ हामी राजीनामा दिन्छौँ ।’

नयाँ समीकरणले कर्णालीमा माओवादीले ६ वर्षपछि पहिलोपटक सरकार सबै राजकीय पद गुमाउँदै छ । विशेष गरी संविधान संशोधनको मुद्दा लिएर सहकार्यमा अघि बढेका कांग्रेस र एमालेको गठबन्धनको प्रभावले प्रदेश स्थापनादेखि कर्णालीको सत्ता बागडोरको हिमायती बनेको माओवादी प्रदेशसभाको दोस्रो कार्यकालमा प्रतिपक्षमा पुगेको छ ।

प्रदेश स्थापनाका ६ वर्षमा दुईपटक सरकारको नेतृत्व लिएको माओवादी कर्णालीमा हालसम्म प्रतिपक्षीको स्वाद चाख्न पाएको छैन । नयाँ समीकरणका कारण माओवादीले पाएको प्रदेश प्रमुख पनि गुमाउने छ ।

यता माओवादीले सरकारबाट बाहिरिने तयारी गर्दा एमाले र कांग्रेसबिच नयाँ सरकार गठनका विषयमा छलफल सुरु भएको छैन । ४० सदस्यीय प्रदेशसभामा एमाले र कांग्रेसको सहज सरकार बन्छ ।

तपाईको प्रतिक्रिया