नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसहरू पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताएका छन् ।

आइतवार ४२औँ बीपी स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कांग्रेसले पढ्दै पढ्दैनन् भन्ने भनाइ रहेको भन्दै पुस्तकालय शुभारम्भ भएसँगै अध्ययन गर्ने बानी बसाल्ने विश्वास व्यक्त गरे । एउटा भन्ने चलन छ, काँग्रेसले पढ्दै पढ्दैन भनेर । अब लाइबेरी भएपछि अवश्य नै पढ्नुहुनेछ भन्ने लाग्छ मलाई, देउवाले भने ।

विश्वेश्वरप्रसाद कोइराला राजनीतिदेखि साहित्य लगायतका हरेक कुरामा सक्षम रहेको भन्दै देउवाले कोइरालाको योगदान अविष्मरणीय रहेको बताए । कोइराला राजनीतिमा आफ्नो जीवनभर आफ्ना सिद्धान्त स्थापित गर्न र राष्ट्रको लागि जुनसुकै वलिदान गर्न तयार व्यक्ति भएको देउवाको भनाइ छ ।

‘बीपी कोइरालाको सम्बन्धमा मैले भन्ने गरेको छु, धेरै ठूलो व्यक्ति हो । उहाँ हर चिजमा साहित्यकार, साइकोलोजिस्ट सबैकुरामा योग्य हुनुहुन्थ्यो, देउवाले भने, राजनीति र साहित्यका साथ साथै धेरै कुरामा उहाँको योगदान छ । राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार भएको व्यक्ति हो ।’
देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह गरे ।

नेपाल कर्म । ६ श्रावण २०८१, आईतवार १२:४६