चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । गत आर्थिक वर्षमा एक लाख ७६ हजार तीन सय १६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । आर्थिक वर्ष २०७९(८० मा दुई लाख पाँच हजार ६ सय पाँच आन्तरिक पर्यटक घुम्न आएका थिए । गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ तथा आर्थिक वर्ष २०७९(८० मा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए ।

अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० यहाँ घुम्न आएका थिए भने आर्थिक वर्ष २०७९–८० मा ५५ हजार आठ सय ७२ जनाले निकुञ्जको अवलोकन गरेका थिए । आर्थिक वर्ष २०७८–७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका सूचना अधिकारी तिवारीले जानकारी दिए ।

गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा तेस्रो मुलुकका पर्यटकको आगमन बढेको पाइएको छ । निकुञ्जमा पर्यटकको आगमन बढेसँगै राजस्वमा समेत वृद्धि भएको छ । सूचना अधिकारी तिवारीका अनुसार गत आर्थिक वर्षमा पर्या–पर्यटनबाट ३० करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा यो रकम २२ करोड ९४ लाख रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७८–७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आर्थिक वर्षमा ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व संकलन भएको थियो ।
यसैगरी, आर्थिक वर्ष २०७७–७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७६–७७ मा १९ करोड ९२ लाख ५५ हजार राजस्व संकलन भएको थियो । निकुञ्ज स्थापनासँगै आर्थिक वर्ष २०३१–३२ देखि पर्यटकको तथ्यांक राख्न थालिएको हो । सो आर्थिक वर्षमा आठ सय ३६ पर्यटकले मात्र निकुञ्ज घुमेको तथ्यांक छ । सो आर्थिक वर्षमा एक लाख ४० हजार राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०३२–३३ मा दुई हजार दुई सय ६ पर्यटकले निकुञ्जको भ्रमण गर्दा दुई लाख एक हजार राजस्व संकलन भएको थियो ।
सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रूपमा मनाइरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भ्रमण वर्षको प्रचार भइरहेकाले चितवन आउने पर्यटकको संख्या बढेको बताइन् । भ्रमण वर्षमा आउने पर्यटकको मुख्य गन्तव्य निकुञ्ज रहेको उनको भनाइ छ ।

नेपाल कर्म । ५ श्रावण २०८१, शनिबार ११:२७