राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले उक्त प्रतिवेदन पेस गरे ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए ।

त्यसअघि अध्यक्ष दाहालले २० असारको बैठकमा एमालेका सांसद शारदादेवी भट्टले प्रयोग गरेका शब्द ‘रेकर्ड’बाट हटाउन निर्देशन दिए ।

सचिवालयबाट अध्ययन गर्दा सांसद भट्टले प्रयोग गरेका ती शब्द राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१ को खण्ड ९घ० १ को व्यवस्था विपरीत भएको देखिएको अध्यक्ष दाहालले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिलाई होच्याउने गरी प्रयोग भएका ती शब्दप्रति नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले नियमापत्ति गर्दै रेडर्कबाट हटाउन माग गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक सोमबार अपराह्न १ः१५ मा बस्नेछ ।

नेपाल कर्म । ४ श्रावण २०८१, शुक्रबार १६:१२