प्रधानमन्त्री केपी शर्मा ओलीका विकास सल्लाहकार डा। युवराज खतिवडाको सल्लाहपछि नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति रोकिएको छ ।

राष्ट्र बैंक व्यवस्थापन समितिले पारित गरिसकेपछि गर्भनर महाप्रसाद अधिकारीले बिहीबार प्रधानमन्त्री ओली र सल्लाहकार खतिवडालाई बिफ्रिङ गरेका थिए । शुक्रबार राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेर पारित गर्ने र दिउँसो सार्वजनिक गर्ने कार्यक्रम थियो ।

तर, नवनियुक्त विकास सल्लाहकार डा। खतिवडाले मौद्रिक नीतिमा केही संशोधन औँल्याएपछि सार्वजनिक कार्यक्रम सारिएको हो ।

‘आज सार्वजनिक नहुने पक्का भयो । सञ्चालक समितिको बैठक बसे पनि मौद्रिक नीति एजेण्डामा छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
प्रधानमन्त्री ओलीका विकास सल्लाहकार खतिवडा स्वयं पूर्वगर्भनर हुन् । उनी मौद्रिक नीतिका विज्ञसमेत हुन् । प्रधानमन्त्रीको उपस्थितिमा उनले गर्भनर अधिकारीलाई केही संशोधन गर्न आग्रह गरेका थिए । तर, आफूले मौद्रिक नीति रोक्न नभनेको उनले बताएका छन् । नयाँ सरकारले आफ्ना केही कुरा समावेश गर्न चाहनु स्वभाविक रहेको उनले प्रष्ट पारे ।

नेपाल कर्म । ४ श्रावण २०८१, शुक्रबार १२:२७