सरकारका मन्त्रीहरूलाई कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाइ थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह गरेका छन् ।

काठमाडौंमा सञ्चारकर्मीहरूसंग आफ्नो धारणा राख्दै नेता महरले मन्त्री नियुक्त भएको हप्तौँसम्म खादा र माला थाप्नमै व्यस्त हुनु फजुलमा समय खेर फाल्नु भएको टिप्पणी गरे।

‘सिंहदरबार कामकाजी अड्डा हो । त्यसलाई सोही अनुरूप प्रयोग गर्नुपर्छ । मन्त्रालयमा बसेर जनताको काम गर्नुपर्छ,ु उनले भने, ुसम्मानै थाप्ने रहर भए निजी निवासमा बोलाउँदा हुन्छ । जनता विपद्को सामना गरिरहनुभएको छ । यस्तो अवस्थामा सरकार राहत तथा उद्धारमा सक्रिय हुनुपर्छ ।’

महरले नयाँ सरकारलाई हिजोका सरकारको जस्तो गल्ती गर्ने छुट नभएको बताए । जनअपेक्षा र आफ्नो प्रतिबद्धता अनुरूप सरकारमा सहभागी दुई ठूला दल कांग्रेस–एमालेले काम गर्नुपर्ने उनको धारणा छ ।
‘नयाँ सरकार निर्माण हुँदै गर्दा भएको राजनीतिक सम्झौताअनुसार काम गर्नुपर्छ । भ्रष्टाचार अन्त्य, सुशासन, दिगो विकास, आर्थिक सुदृढीकरण, समृद्धि र जनताको जनजीविकाका सवालमा सरकार गम्भीर हुनुपर्छ,’ उनले भने, ‘युवालाई देशमै रोकेर उनीहरूको श्रम देश निर्माणमा सदुपयोग गर्नेतर्फ पनि सरकार जिम्मेवार हुनुपर्छ ।’
दुई ठूला दल एक ठाउँमा आउँदा जनतामा आसा जागेको र जनअपेक्षाअनुसार काम गर्न नसकेमा कांग्रेस(एमालेप्रति जनतामा थप वितृष्णा पैदा हुने उनको चिन्ता छ ।

नेपाल कर्म । ४ श्रावण २०८१, शुक्रबार ११:४७