मोड्रिच थप एक वर्ष रियलमा रहने

स्पेनिस च्याम्पियन रियल मड्रिडका कप्तान लुका मोड्रिचले स्पेनिस च्याम्पियन्ससँग एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।



३८ वर्षीय मोड्रिचले सन् २०१२ मा टोटनह्यामबाट रियलमा आबद्ध भएदेखि छ वटा च्याम्पियन्स लिग र चार घरेलु उपाधि सहित २६ वटा उपाधि जितिसकेका छन् ।

सन् २०१८ को बालोन डीुओर विजेताले लस ब्लान्कोसका लागि ५३४ खेल खेलेका छन् भने ३९ गोल गरेका छन्। उनले २०२३–२४ सिजनमा सबै प्रतियोगिताहरूमा ४६ पटक खेले तर यसमा उनले २३ पटक मात्र सुरुवात गरेका थिए ।

मोड्रिचले युरो २०२४ मा क्रोएसियाका तीनवटै खेलमा सुरुवात गरेका थिए । यद्यपि उनको टोली आफ्नो समूहमा तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको थियो।

मिडफिल्डर जुनको अन्त्यमा सम्झौताविहीन थिए । तर उनको निरन्तर उपस्थितिले म्यानेजर कार्लो एन्सेलोटीलाई बर्नाबेउमा अनुभव र भरोसा सुनिश्चित गर्नेछ।

रियलले पेरिस सेन्ट जर्मेनबाट किलियान एमबाप्पेलाई अनुबन्ध गरिसकेको छ । फ्रान्सेली स्ट्राइकरलाई १६ जुलाईमा आधिकारिक रूपमा अनावरण गरिएको छ ।

त्यस्तै ब्राजिलियन युवा खेलाडी एन्ड्रिकलाई पनि १५ पटकको युरोपेली च्याम्पियनलाई बलियो बनाउन ब्राजिलियन पक्ष पाल्मिरासबाट ड्राफ्ट गरिएको छ ।

तपाईको प्रतिक्रिया