उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौती निजी क्षेत्रको आत्मबल बढाउनु रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँगको कुराकानीमा उनले विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताए। उनले अहिलेको आफ्नो चुनौती निराशा चिर्ने र आशा जगाउने रहेको बताए ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोबल टुटेको खण्डमा सबै कुरा टुट्ने भन्दै बजारको माग, उत्पादन, क्रय शक्तिको वृद्धि गर्न ध्यान दिने बताए । उनले अहिलेका चुनौती र समस्याहरूको सामना गर्न आफू लागिपरेको पनि बताए ।

अर्थमन्त्री पौडेलसँगको भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अर्थतन्त्र तत्काल चलायमान बनाउन वर्किङ क्यापिटल गाइडलाइन र असेट क्लासिफिकेसन गाइडलाइन इमिडेट्ली तत्काल खारेज गर्नुपर्ने बताए । उनले यी दुई गाइडलाइन खारेज नगरी अर्थतन्त्र चलायमान बनाउन नसकिने बताए ।
उनले वर्किङ क्यापिटल गाइडलाइनले इन्डस्ट्री, निर्माण क्षेत्रलाई र थोक खुद्रा व्यापारलाई असर गरिरहेको बताए । उनले भारतमा लागू भएर असफल भएको नीति नेपालमा लागू गर्दा सफल नभइने बताए ।

नेपाल कर्म । ३ श्रावण २०८१, बिहीबार १४:५४