ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विषयमा विविध छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपाल–भारतसम्बन्ध प्रगाढ र जनस्तसम्म रहेको बताए । उनले नेपालको सुख्खा महिनामा भारतबाट प्राप्त विद्युत्ले यहाँको विद्युत् अभावलाई कम गर्न सघाउ पुर्याएकामा राजदूतलाई धन्यवाद दिए ।


भेटमा मन्त्री खड्काले वर्षाको समयमा नेपालमा विद्युत् बढी हुँदा भारत निर्यात भइरहेकाले यसले दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुर्याएको बताए । उनले भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेकाले यसलाई सफल कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत पहल गरिने प्रतिबद्धता जनाए ।
राजदूत श्रीवास्तवले मन्त्री खड्कालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका लागि भारत सरकार तयार रहेको बताए ।

नेपाल कर्म । २ श्रावण २०८१, बुधबार १७:१७