तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द

तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो ।



असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि नियमित पानी वितरण रोकिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए । उनका अनुसार खानेपानीको मुहानसम्म जाने बाटो पहिरोले बगाएपछि मर्मत गर्न ढिलाइ भएको हो ।

डाँडामाथिबाट खसेको पहिरोले कतिपय पाइप सेतीनदी किनारसम्म बगाएको बताउँदै श्रेष्ठले जिआई र एचडिपी गरी करिब ५० मिटर पाइपमा क्षति पुगेको उनले जानकारी दिए । नियमित पानी आपूर्ति गर्न मर्मत गर्नाका साथै कतिपय स्थानमा नयाँ पाइप जडान भइरहेको उनले बताए ।

लामो दूरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसमलगायत कारणले काम गर्न कठिनाइ हुँदा केही समय लागेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ । सानाठूला गरी चार आयोजनाबाट पानी सङ्कलन गरी व्यास–१ र १२ का दुई हजार छ सय ८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको थियो ।

खिरखाँदी मुहानको पानीको क्षमता प्रतिसेकेन्ड नौ लिटर रहेकामा पहिरोले अवरुद्ध भएपछि पानी वितरणमा समस्या भइरहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए । यसअघि बिहान र बेलुका दुईरदुई घण्टा पानी वितरण हुँदै आएकामा पानीको स्रोत घटेकाले समय पनि घटाइएको अध्यक्ष दरैले बताए । उक्त मुहानको पानी पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएकाले फारो गरेर पानी प्रयोग गर्न खानेपानी उपभोक्ता समितिले सबैलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया