संविधान संशोधन गर्ने कामलाई तत्काल अघि बढाउँछौँ : कानुनमन्त्री चौरसिया

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधन गर्ने कामलाई अघि बढाउने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



मन्त्री चौरसियाले सत्तारुढ नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधन गरेर अघि बढ्ने सहमति भएकाले त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्नु आफूहरूको दायित्व भएको बताए । उनले विगत ८/१० वर्षको अवधिमा संविधानमा देखिएको कमजोरी हटाउनका लागि सरकारले संविधान संशोधनको कामलाई अघि बढाउन लागेको पनि बताए ।

संविधानमा देखिएको समस्या समाधान गर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ सरकारले संविधान संशोधनको कामलाई अघि बढाउने मन्त्री चौरसियाको भनाइ थियो ।

मन्त्री चौरसियाले न्याय क्षेत्रमा देखिएका अप्ठ्यारा हटाउनका लागि कानुनमा देखिएको समस्या तत्काल हल गर्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले न्यायालयलाई आफूले सदैव सहयोग गर्ने पनि बताए ।

तपाईको प्रतिक्रिया