नारायणी नदीमा भेटिएको शवको सनाखत भयो, गणपति डिलक्सका यात्रुको भएको पुष्टि

शनिबार नारायणी नदीमा फेला परेको शव सिमलताल पहिरोमा परी त्रिशूलीमा बगेको बसका यात्रुको भएको पुष्टि भएको छ । शनिबार चितवनको भरतपुर महानगरपालिका द्दड स्थित नारायणी नदी किनारामा एक पुरुषको शव फेला परेको थियो ।



सो शव काठमाडौंबाट रौतहटतर्फ गइरहेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रुको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव भारतीय नागरिक ऋषि पल साहको भएको प्राप्त कागजातले पुष्टि गरेको छ । शवसँगै फेला परेका कागजातले उनको सनाखत भएको हो ।

काठमाडौंबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपता भएको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा बसमा सवारमध्ये नन्दन दास, सुरज प्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर नदीबाट बाहिर आएका थिए । अरु यात्रु बससँगै बेपत्ता भएका थिए ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुईवटा यात्रुबाहक बस त्रिशूलीमा बेपत्ता भएका छन् । बस र यात्रुको खोजी कार्य शनिबार पनि जारी छ । शुक्रबार बिहानैदेखि खोजी सुरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया