ओली मन्त्रिपरिषद् : अनुभवी र नयाँ अनुहारको समिश्रण, प्रचण्ड मन्त्रिपरिषद्का चार जना दोहोरिए

प्रधानमन्त्री केपी शर्माओलीको मन्त्रिपरिषद्मा अनुभवी मन्त्री र नयाँ अनुहारका मन्त्रीहरूले स्थान पाएका छन् । नेपाली कांग्रेसले १० जना मन्त्री पठाउँदा ५ जना पुराना र ५ जना नयाँ मन्त्री पठाएको छ ।



कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंह उपप्रधानमन्त्रीसहित शहरी विकासमन्त्री बनेका छन् । उनी पहिले पनि उपप्रधानमन्त्री बनिसकेका व्यक्ति हुन् । गृहमन्त्री बनेका रमेश लेखक अहिलेको कांग्रेस–एमाले गठबन्धन बनाउन कांग्रेसको तर्फबाट भूमिका खेलेका पात्र । सो भूमिका खेलेपछि उनी मन्त्री बन्ने निश्चितप्रायस् थियो । लेखक यसअघि राज्यमन्त्री र मन्त्री भइसकेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवापत्नी तथा केन्द्रीय सदस्य आरजु राणा नयाँ अनुहारकी मन्त्री हुन् । उनले परराष्ट्रमन्त्रालयको जिम्मेवारी पाएकी छिन् । ऊर्जा मन्त्री दीपक खड्का यसअघि राज्यमन्त्री बनेका व्यक्ति हुन् । त्यस्तै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही पहिलो पटकमन्त्री बनेका हुन् । कानुन मन्त्री अजय चौरसिया २०५८ मा स्थानीय विकास सहायक मन्त्री बनेका थिए ।

त्यस्तै, युवा तथा खेलकुदमन्त्री बनेका तेजुलाल चौधरी नयाँ अनुहारका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल नयाँ अनुहारका मन्त्री हुन् । त्यस्तै, कृषिमन्त्री बनेका रामनाथ अधिकारी पनि नयाँ अनुहारका मन्त्री हुन् ।

सरकारको नेतृत्व गरेको दल नेकपा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल छन् । उनी यसअघि नै उपप्रधानमन्त्री बनिसकेका व्यक्ति हुन् । सञ्चारमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री पनि हुन् । गुरुङ २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री पनि बनेका थिए । भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी प्रचण्ड सरकारमा पनि मन्त्री थिए । प्रचण्ड सरकारबाट ओली सरकारमा दोहोरिने एमालेका यी दुई जना मात्र हुन् ।
रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता नयाँ अनुहारका मन्त्री हुन् ।

जसपाबाट खानेपानी मन्त्री बनेका प्रदीप यादव पटक पटक मन्त्री बनेका व्यक्ति हुन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा उनी स्वास्थ्यमन्त्री रहेका थिए । जसपाबाटै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक नवलकिशोर शाह सुडी पनि अघिल्लो सरकारमा मन्त्री थिए । लोसपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका शरतसिंह भण्डारीको २० औंपटक मन्त्रीको स्वाद लिइरहेका छन् ।

तपाईको प्रतिक्रिया