सुर्खेत । दैलेखमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तल्लो डुंगेश्वरबाट दुल्लुतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिकाको वडा नम्बर १ गाडापानीमा गएराती दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जना गम्भीर घाइते भएका थिए । घाइते हुनेमा दुल्लु नगरपालिका–१ का १८ वर्षीय जानुकुमारी खड्का, सोही ठाउँका १९ वर्षीय डिलमाया खड्का र दुल्लु नगरपालिका–५ का १९ वर्षीय भरत शर्मा हुन् । यीमध्य डिलमायाको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशाेर लम्सालले नेपालकर्मलाई जानकारी दिए ।


उनकाअनुसार उपचार भइरहेका अन्य दुई जना मध्य शर्माको अवस्था गम्भीर छ भने जानुको सामान्य छ । दुवै जनाकाे प्रदेश अस्पतालमा उपचार भइरहेकाे छ । दुर्घटनामा घाइते भएका थप दुई जनाको नाम थर नखुलेको र उनीहरूकाे अवस्था सामान्य रहेकाले घटनास्थलबाटै घर गएकाे प्रहरीको भनाई छ । दुर्घटना लगत्तै चालक फरार रहेकाले प्रहरीले खोजी भइहेको प्रहरीले जनाएको छ ।

नेपाल कर्म । ३२ जेष्ठ २०८०, बिहीबार १२:३८