नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रिपरिषद् गठन तथा कार्यविभाजनसमेत भएको छ । उनको मन्त्रिपरिषद्मा दुई जना उपप्रधानमन्त्री रहेका छन् ।

ओली मन्त्रिपरिषद् समावेशिताको कसीमा कमजोर देखिएको छ । २२ सदस्यीय मन्त्रिपरिद्मा जम्मा दुई जना मात्र महिला समेटिएका छन् । कांग्रेसकी आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छन् भने एमालेकी विद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । यो मन्त्रिपरिषद्मा महिलाको सहभागिता जम्मा ९।०९ प्रतिशत मात्र छ ।


यस्तै, यो मन्त्रिपरिषद् दलितविहीन बनेको छ । कांग्रेसका जीवन परियार र एमालेका छविलाल विश्वकर्मा मन्त्री बन्ने चर्चामा रहे पनि उनीहरू मन्त्रिपरिषद्मा अटाएनन् ।
भूगोलका हिसाबले कोशी प्रदेश हाबी देखिएको छ । कोशीबाट स्वयम् प्रधानमन्त्री ओली, देवेन्द्र दाहाल, मानवीर राई र दीपक खड्का मन्त्री बनेका छन् । जबकि कर्णाली प्रदेशबाट एक जना मात्र ऐनबहादुर शाही मन्त्री बनेका छन् ।

नेपाल कर्म । ३१ असार २०८१, सोमबार १३:०६