सुर्खेत । महिला अधिकारहरुका दस्तावेजमा कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरिएको छ । सीड, विफा, एसडीजी तथा युएनएससीआर १३२५ र १८२० लगायतका विभिन्न अन्तर्राष्ट्रिय महिला अधिकार सम्बन्धी दस्तावेजहरुमा प्रदेश सभाका महिला सांसदहरुसँग छलफल गरिएको हो ।

युएन वमनको सहयोग तथा महिला, कानून र विकास मञ्च काठमाडौंको आयोजनामा वीरेन्द्रनगरमा तीन दिने अन्तरिक्रया गरिएको छ । अन्तरक्रियामा मुख्यगरी बेइजिङ्ग घोषणा एवम् कार्ययोजना, अन्तर्राष्ट्रिय मानव अधिकार दस्तावेजहरु, दिगो विकास लक्ष्य, अन्तर्राष्ट्रिय श्रम संगठनको हिंसा र दुर्व्यवहार महासन्धि १९० र महिला विरुद्ध हुने दुवै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिका विषयमा छलफल गरिएको छ ।

यस्तै, नेपालमा सिडको कार्यान्वयनको अवस्था, संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ र १८२० र महिला हिंसा उन्मूलन सम्बन्धि घोषणापत्र १९९३ का विषयमा पनि सांसदहरुलाई प्रशिक्षण दिइएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार बविता बस्नेत र महिला, कानून र विकास मञ्चका कार्यकारी निर्देशक एवम् अधिवक्ता सविन श्रेष्ठले प्रशिक्षण दिएका छन् ।
सिड, बइजिङ्ग घोषणापत्र तथा कार्ययोजना र दिगो विकासका विषयमा स्पष्ट हुने मौका मिलेको प्रदेश सभा सांसद कल्याणी खड्काले बताइन् । ‘दिगो विकासको लक्ष्यलाई पछ्याउन बजेट प्रणाली कसरी सुधार्नुपर्छ भन्ने विषयमा भरपूर्ण ज्ञान प्राप्त भयो,’ खड्काले भनिन्, ‘कर्णालीमा व्याप्त रहेको महिला हिंसा, कुसस्कार जस्ता विद्यमान समस्यालाई कसरी राष्ट्रियहुँदै अन्तर्राष्ट्रियकरण गर्ने सवालमा पनि जान्ने अवसरका पयौं ।’

उनले प्रदेश सभामा आम नागरिकहरुका सवाल उठान गरिरहँदा विद्यमान रहेका महिलाहरुका विषयलाई कसरी प्राथमिकरण गर्ने र कानून निर्माणमा समेटिनुपर्ने विषयगत बुझ्न थप टेवा पुगेको उल्लेख गरिन् ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका राज्यमन्त्री गमता विकले महिलाका लागि अन्तर्राष्ट्रिय दस्तावेजका विषयमा स्पष्ट जानकारी लिने अवसर पाएको र गाउँ तहसम्म पु¥याउन थप ऊर्जा प्राप्त भएको बताइन् ।
संविधानमै मौलिक हकको स्पष्ट व्यवस्था भएपनि कार्यान्वयन तह कमजोर रहेकाले प्रभावकारी कार्यान्वयनका लागि सबैको साथ आवश्यक छ र सबैसँग समन्वय गर्दा महिलाका सवाल उठानमा मद्दत पुगेको उल्लेख गरिन् ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपाने, पूर्व उर्जा मन्त्री उर्मिला विश्वकर्मा, सांसद सन्ताेषी शाही, लक्ष्मी सुनार, जुम्कित लामा, तुलसा मल्ल, मिलन खड्का राेका, इन्द्राकुमारी शाही, दक्षिणा शाही, कलबहादुर हमाल, युएन वमनका कर्णाली संयाेजक सकुन्तला सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल कर्म । ३० असार २०८१, आईतवार १७:३१