गहुँ बोकेको ट्रकमा लुकाएर जुत्ताचप्पल तस्करी

गहुँ बोकेको ट्रकमा लुकाएर तस्करी गर्न लागिएको १५ बोरा जुत्ता चप्पलसहितको ट्रक सशस्त्र प्रहरीले सप्तरीबाट नियन्त्रणमा लिएको छ ।



सर्लाहीको ईश्वरपुरस्थित मनकामना ट्रेडर्सको नाममा २ हजार १ सय किलो गहुँको नक्कली भीसीटीएस बिल बनाएर सिरहाको नवराजपुर गाउँपालिका– ४, झासपट्टीबाट लोड गरिएको गहुँ र १५ बोरा भारतीय जुत्ता चप्पलसहित ना ६ख ६६६५ नम्बरको ट्रकलाई आइतबार बिहान सप्तरीको कडरवानास्थित पूर्व–पश्चिम लोकमार्गबाट नियन्त्रणमा लिइएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस कडरवानाले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको सामानमध्ये सिरहाबाट लोड गरिएको गहुँको सर्लाहीबाट भीसीटीएस बिल बनाइएको तर जुत्ताचप्पलको कुनै प्रकारको बिलसमेत फेला परेको छैन ।

नियन्त्रणमा लिइएको ट्रक, सामान र ट्रकका चालकसहितलाई आवश्यक कारबाहीका लागि ५० लाख ६७ हजार ९ सय ९० रुपैयाँ कायम गरी राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया