काठमाडौं । काठमाडौं उपत्यकामा डेंगु संक्रमण झन् झन् बढ्दै गएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार (असार २३ गतेदेखि २९ गतेसम्म)को अवधिमा काठमाडौं जिल्लामा मात्रै १९ जना संक्रमित थपिएका छन्।

गत असार २३ गतेसम्म काठमाडौंमा १६५ जना संक्रमित थिए। यस्तै यो बिचमा ललितपुर भक्तपुरमा पनि डेंगु संक्रमित बढेका छन्। हाल ललितपुरमा २३ र भक्तपुरमा ३५ जना संक्रमित भेटिएका छन्।
यस्तै हाल देशभर डेंगु संक्रमितको संख्या १ हजार ५४४ पुगेको छ। असार २३ गते सम्म देशभर एक हजार ४ सय ३२ जना संक्रमित थिए। यसरी हेर्दा यस हप्ता देशभर झन्डै दुई सय जति डेंगु संक्रमित थपिएका छन्।

इडिसिडीको पछिल्लो विवरण अनुसार हाल झापामा १२३ जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी चितवनमा ९०, मकवानपुरमा ७०, डोटीमा ५०, तनहुँ ५३, सिन्धुपाल्चोकमा ४७, भोजपुरमा ४६ जना संक्रमित भेटिएका छन्।

प्रदेश स्तरमा हेर्ने हो भने हाल बाग्मती प्रदेशमा डेंगु संक्रमित बढेको बढ्यै छन्। विवरणअनुसार बाग्मतीमा हाल ५३८ जना संक्रमित रहेका छन्। अघिल्लो हप्ता यो प्रदेशमा ५०५ जनामा डेंगु संक्रमित भेटिएका थिए। यस्तै कोशीमा ३७१ जना संक्रमित पुगेका छन। कोशिमा अघिल्लो हप्ता ३५२ जना संक्रमित थिए।
गण्डकीमा २२३० , लुम्बिनीमा १८१, सुदूरपश्चिममा १६४, मधेशमा ३९ र कर्णाली प्रदेशमा २१ जनामा डेंगु पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष अन्य वर्षको तुलनामा डेंगु संक्रमण बढी पुष्टि हुने आँकलन गरेको छ।

नेपाल कर्म । ३० असार २०८१, आईतवार १४:५७