चेक गणतन्त्रकी बारबोरा क्रेजिकोवा पहिलो पटक विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ च्याम्पियन बनेकी छन्।

लण्डनस्थित सेन्ट्रल कोर्टमा शनिबार क्रेजिकोवाले इटालीकी जास्मिन पाओलिनीविरुद्ध २–१ सेटको जित निकालिन्। पहिलो सेट ६२ ले आफ्नो पक्षमा पारेकी क्रेजिकोवाले दोस्रो सेट २–६ ले गुमाएकी थिइन्। तेस्रो तथा निर्णायक सेटमा ६–४ ले विजयी हुँदै क्रेजिकोवा च्याम्पियन बनिन्।

क्रेजिकोवाको समग्रमा भने यो दोस्रो एकल ग्रान्डस्लाम उपाधि हो। यसअघि उनी सन् २०२१ मा फ्रेन्च ओपन च्याम्पियन बनेकी थिइन्। यस्तै क्रेजिकोवाले सन् २०२१ र २०२२ मा महिला युगलतर्फको विम्बल्डन उपाधि जितेकी थिइन्।

यता पाओलिनीको भने लगातार दोस्रो ग्रान्डस्लाम फाइनल पराजय हो। उनी फ्रेन्च ओपनको फाइनलमा पनि इगा स्वायटेकसँग पराजित भएकी थिइन्।
यसैगरी पुरुषतर्फको उपाधिका लागि आज साविक विजेता कार्लोस अल्कारेजले नोभाक जोकोभिचको सामना गर्नेछन्।

नेपाल कर्म । ३० असार २०८१, आईतवार ११:२६