पाँच घण्टा खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका दुई यात्रुबाहक बस

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका बस पाँच घण्टाको खोजीमा पनि भेटिएका छैनन् ।



शुक्रबार बिहान करिब साढे तीन बजे काठमाडौंबाट गौर जाँदै गरेको यात्रुबाहक बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बस पहिरोसँगै त्रिशूलीमा खसेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोलीले शुक्रबार बिहान करिब ९ बजेबाट खोजी मिसन सुरु गरेका थिए । तर, मिसन सुरु भएको पाँच घण्टा बितिसक्दा पनि बसको कुनै पत्ता लाग्न सकेको छैन ।

त्रिशूली नदीको बहाब बढिरहेको र पानी पनि धमिलो भएकाले खोजी कार्यमा समस्या भएको सशस्त्र प्रहरीले जनाएको छ । चुम्बकको सहायताले खोजी कार्य गर्दा पनि बस नभेटिएको सशस्त्र प्रहरीले जनाएको छ । गोताखोरले घटनास्थलदेखि देवघाटसम्म खोजी गरेका छन् ।

सशस्त्र प्रहरीका ३ वटा बोट र नेपाली सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया