
सुर्खेत । पश्चिम नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेकाले एक दुइ दिन भारी वर्रषाकाे सम्भावना देखिएकाे छैन । साेमबारदेखि नै पश्चिम नेपालमा मनसुनको गतिविधिमा उल्लेख्य कमी आएको छ भने त्यहाँ विगत १२ घण्टादेखि वर्षा पनि कम भएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे हाे ।

महाशाखाका मौसमविद् सन्जिव अधिकारीकाअनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतिर रहँदा भएको अति भारी वर्षाले सुदूरपश्चिमका केही जिल्लाहरु प्रभावित भएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक-दुई दिनलाई भारी वर्षा हुने देखिंदैन । ‘मनसुनको बेला छ, पानी त पर्छ तर कर्णाली र सुदूरपश्चिममा एक-दुई दिनलाई भारी वर्षा हुने देखिँदैन,’ उनले भने, ‘हल्कादेखि मध्यमसम्म मात्र सीमित हुने देखिन्छ ।’


सोमबार रातितिर कर्णालीका एक-दुई स्थानमा छिटफुट वर्षा भएको देखिएको छ । लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो । पूर्वी नेपालका भूभागमा भने मनसुनको न्यूनचापीय रेखा सरदर र सरदर स्थानभन्दा थोरै माथि रहेकाले केही स्थानहरुमा मध्यमदेखि भारी वर्षा भएको छ । पश्चिम नेपालमा आगामी दुई दिन मनसुन निष्कृय रहे पनि मध्य र पूर्वी नेपालमा सक्रिय रहने पूर्वानुमान छ ।
नेपाल कर्म । २५ असार २०८१, मंगलवार ०८:५०