कर्णाली राजमार्गको एसमोडमा पहिरो पन्छ्याउनै सकस, ढुंगा हटाउन ब्लाष्ट गर्ने तयारी

सुर्खेत । अविरल वर्षातका कारण सडकमा पहिरो झरेपछि अवरुद्ध कर्णाली राजमार्ग खुलाउन सकस भएको छ । जमुहनाह–सुर्खेत–कालिकोट सडकको एस मोडमा झरेको ठूलो ढुंगाका कारण सडक सुचारु गर्न सकस भएको हो ।

कालिकोटको हुल्मदेखि दैलेखको दही खोलासम्म ६ ओटा ठूला पहिरो झरेको सडक डिभिजन कार्यालय जुम्लाका सव–इन्जिनियर गोविन्द अधिकारीले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार पाँच ठाउँको पहिरो हटाएर एकतर्फी सवारी सञ्चालन गर्न सकिने भएपनि एस मोडको पहिरोले दुःख दिएको छ ।

‘एसमोडमा ठूलो ढुंगा सडकमा बसेको छ । फुटाउन मेसीनको प्रयोग गरिएपनि समस्या भइरहेको छ,’ अधिकारीले भने, ‘अहिलेसम्म ३० प्रतिशत ढुंगा फुटाएकाले आज रातीसम्म ढुंगा जसरी पनि फुटाउने र यदि नसकिए ब्लाष्ट गर्न जिल्ला प्रशासन कार्यालय कालिकोटसँग पहल गरिरहेका छौं ।’

पहिरो पन्छ्याउन जुम्ला र सुर्खेतबाट एक्साभेटर, लोडर, डोजर सडक अवरुद्ध स्थलमा पुगेर काम गरिरहेका छन् । छिनछिनमा पानी परिरहेकाले पहिरो हटाउनमा थप समस्या भइरहेको अधिकारीले जनाए । जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले एसमोडको ढुंगा हटाउन समस्या भइरहेको बताए ।

सडक कार्यालयले रातीसम्म ढुंगा फुटाउन सकिन्छ की भनेर काम गरिरहेको नेपालीले उल्लेख गरे । स्काभेटरले पहिरो पन्छ्याउन नसके ब्लाष्ट गर्न नेपाली सेनासँग समन्वय भइरहेको उनको भनाई छ । ‘रातीसम्म कुरौं, कतै स्काभेटरबाटै ढुंगा फुटाउन सकिन्छ की,’ नेपालीले भने, ‘यदी फुटाउन सकिएन भने भोली विहानैदेखि ब्लाष्ट गर्नेगरी सेनासँग समन्वय गरिरहेका छौं ।’

शुक्रबार रातीदेखि सडक अवरुद्धहुँदा कालिकोट, हुम्ला, बाजुुरा, मुगु र जुम्ला जाने यात्रुहरुको विचल्ली भएको छ । सयौं यात्रुहरु अलपत्र परेपछि केही यात्रुहरु दही खोलाबाट अर्को सवारीमा सुर्खेतर्फ र सुर्खेतबाट हिमाली र पहाडी जिल्लामा जाने हिडेर हुल्मबाट गन्तव्यतिर गइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।

उनकाअनुसार कर्णाली करीडोर पनि अवरुद्ध भएको छ । जितेगडा–सिमकोट सडक खण्डको सान्नीत्रिवेणी गाउँपालिकाको रेंगिलमा पहिरो झरेपनि सडक अवरुद्ध रहेको र पहिरो हटाउन डोजरले काम गरिरहरको थापाले बताए । मुगु जुम्ला सडककाे हुल्म-मान्म-नाग्म खण्डमा कुनै अवराेध नरहेकाे थापाकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया