सरकारले मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको बताएको छ ।

शुक्रबारको राष्ट्रियसभा बैठकमा गृहमन्त्री रवि लामिछानेका तर्फबाट विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नयाँ वर्षदेखि हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बेपत्ता र दुई जना घाइते भएका बताए ।


उनले पहिरोबाट २४ जनाको मृत्यु र १९ जना घाइते भएको र ७७ ठाउँको भारी वर्षाका घटनाबाट ४ जना घाइते भएको बताए । कुल २८ जनाको मृत्यु, एक जना बेपत्ता र २५ जना घाइते भई ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको उनले बताए । मन्त्री अर्यालले चट्याङबाट ३२ जिल्ला प्रभावित भई ९३ वटा चट्याङका घटना भएको र त्यसबाट १९ जनाको मृत्यु र ३५ जना घाइते भएको बताए । उनले सबै विपद्का घटनाबाट १७१ पशुचौपायाको क्षति भएको बताए ।
मन्त्री अर्यालले विपद् व्यवस्थापनका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार भई कार्यान्वयनमा ल्याइएको बताए । उनले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम आकलन गरी जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुनेगरी विभिन्न निकायलाई क्षेत्रगत रूपमा जिम्मेवारी तोकिएको बताए ।

नेपाल कर्म । २१ असार २०८१, शुक्रबार १३:३०