प्रदेश सरकारले अगामी आर्थिक २०८१/८२ को लागि ल्याएको बजेटमाथि प्रदेशसभामा आज छलफल हुने भएको छ । सरकारले बजेट ल्याएको २१ औँ दिन अर्थात आज शुक्रबार बिहान ११ बजेदेखि प्रदेशसभामा छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

उता विपक्षीहरूले बजटेमा व्यापक त्रुटि भएको भन्दै मुख्यमन्त्री सतिश सिंहलाई लिखित रूपमै बजेटको पुनर्लेखन गर्न माग गरेका थिए । तर, सरकारले संसदमा प्रस्तुत भइसकेको बजेटको पुनर्लेखन सम्भव नरहेको भन्दै पुरक बजेट ल्याएर सच्चाउने बताउँदै आएको छ ।

‘संसदीय कानुन र व्यवहारअनुसार संसदमा प्रस्तुत भएको बजेट यथास्थितिमा नै एकपटक पास हुनुपर्छ,’ अर्थमन्त्री भरतप्रसाद साहले भने, बजेटमा देखिएका त्रुटिहरूलाई पुरक बजेट ल्याएर सम्बोधन गरिनेछ । तर, अहिले बजेट यथास्थितिमा पास गर्नुको विकल्प छैन ।’
प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लख ७० हजार रुपैयाँको बजेट ल्याएको छ । आज उक्त बजेटमा छलफल हुने भएको हो ।

मुख्यमन्त्री सिंहले पनि बजेटमाथि सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरिसकेका छन् । उनले बजेटमा कर्मचारीहरूले चलखेल गरेको र सरकारले त्यसको बारेमा छानबिन गर्ने बताएका थिए । तर, सरकारले अहिलेसम्म बजेटमा भएको टुत्रि छानबिन गर्न समिति बनाएको छैन ।
यस्तो अवस्थामा विपक्षी दलहरू बजेटमाथिको छलफलमा सहभागि नहुने भएका हुन् । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक रामअशिष यादवले सरकार आफैँले बजेटमा कमीकमजोरी भएको स्वीकार गरिसकेको अवस्थमा यथास्थितिमा रहेको बजेटमाथिको छलफलमा आफूहरू सहभागी नहुने बताए । नेपाली कांग्रेसका सांसद शेषनारायण यादवले सरकारले विपक्षीहरूको मागप्रति कुनै चासो नदिएकोले आफूहरू पनि सहभागी नहुने बताए ।
नेकपा एमाले प्रुख सचेतक हरिनारायण महतोले भने आफूहरू बैठकमा सहभागी हुने बताए । हाम्रो पार्टी सम्मिलित सरकारले ल्याएको बजेट भएकोले बजेटमा कमिकमजोरी भए पनि पछि पुरक बजेट ल्याएर सच्याउन सक्ने प्रवधान रहेकोले सहभागी हुन्छौँ, उनले भने ।

नेपाल कर्म । २१ असार २०८१, शुक्रबार १०:१६