पेनाल्टी सुटआउटमा मार्टिनेजको उत्कृष्ट प्रदर्शन, अर्जेन्टिना सेमिफाइनलमा

कोपा अमेरिका २०२४ अन्तर्गत आज बिहान भएको खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ ।



आज बिहान भएको खेल निर्धारित ९० मिनेटमा बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको ३५औँ मिनेटमा लिजान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा इक्वेडरका केभिन रोड्रिगेजले गोल गरेसँगै खेल बराबरीमा टुंगियो ।

निर्धारित ९० मिनेटमा बराबरी भएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा पहिले प्रहार गरेको अर्जेन्टिनाको सुरुवात भने सुखद रहेन ।

पहिलो पेनाल्टी प्रहार गर्न गएका लियोनेल मेस्सी गोल गर्नबाट चुके । मेस्सी चुके पनि पेनाल्टी सुटआउटमा अर्जेन्टिनी गोलकिपर इमी मार्टिनेजले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई सेमीफाइनलमा पुर्‍याए ।

मेस्सी चुकेपछि इक्वेडरको तर्फबाट प्रहार गर्न गएका एन्जेल मेनाको प्रहारलाई रोक्न मार्टिनेज सफल भए । त्यसपछि अर्जेन्टिनाका जुलियन अल्बारेजले गोल गरे । तर, इक्वेडरको तर्फबाट प्रहार गर्न गएका एलन मिन्डाको प्रहार पनि मार्टिनेजले रोकेपछि अर्जेन्टिना पेनाल्टी सुटआउटमा १(० को स्थितिमा पुग्यो ।

त्यस्तै अर्जेन्टिनाका एलेक्सिस माकएलिस्टर, गोन्जालो मोन्टिएल र निकोलस ओटामेन्डीले गोल गरे । उता इक्वेडरको तर्फबाट जोन यबुअ र जोर्डी काइसेडोले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

यो जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तपाईको प्रतिक्रिया