कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरूले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् । बिहीबार पनि अधिकृतस्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेशद्वारमा धर्ना दिएका हुन् ।

२०७५ मा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भए पनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रूपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोधस्वरुप धर्नामा बसेको कर्मचारीहरूको भनाइ छ ।

कृषि मन्त्रालयमा समायोजन भएका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि अधिकृत माधव पौडेलले बताए । ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रूपमा लोक सेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको उनको भनाइ छ ।

आन्दोलन १४ असारदेखि सुरु गरेको भए पनि धर्ना कार्यक्रम १६ असारदेखि सञ्चालन गरेको पौडेलको भनाइ छ । लोक सेवा नियमित रूपमा नखुलेको र आफूहरूको वृत्ति विकास पनि रोकिएकाले आन्दोलन गर्नुपरेको उनले बताए ।
‘हाम्रो कर्मचारीको वृत्ति विकासको हिसाबले उपसचिवहरू खासगरी राजपत्राङ्कित द्वितीय श्रेणीका प्राविधिक उपसचिवहरू खाली भइसकेपछि राजीनामा वा अवकाश भइसकेपछि राजपत्राङ्कित तृतीय श्रेणीकाले स्वतः बढुवा हुने अवसर प्राप्त गर्नुपर्ने थियो, त्यो अवसर हामीले पाएनौँ,ु पौडेल भन्छन्, ुलोक सेवा नियमित रूपमा खुलेन र यसका लागि हाम्रो वृत्ति विकासको निरन्तरताका लागि दबाब दिन आन्दोलनमा छौँ ।
अदालतको परमादेश कार्यान्ववयन नभएपछि आफूहरू मानहानिको मुद्दामा अदालत गएको पनि उनको भनाइ छ ।

नेपाल कर्म । २० असार २०८१, बिहीबार १३:०९