एक्लिँदै प्रचण्ड, अशोक राई नेतृत्वको जसपा पनि नयाँ गठबन्धनतिर

नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० ले समर्थन गर्ने भएको छ ।



वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए ।

महासचिव राईले भने, परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्ने छ । पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ ।

जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

जसपाले पनि सरकार छाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि थप दबाब बढ्ने भएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिइसकेका छन् । यस्तो अवस्थामा प्रचण्डले संसदबाट प्रस्ट रूपमा बहुमत गुमाइसकेका देखिन्छ ।

तपाईको प्रतिक्रिया