रवि लामिछानेले फेसबुकमा आफ्नो वाहवाही गराउन समूह परिचालन गरेको मुकुलको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले सभापति लामिछानेको पक्षमा सामाजिक सञ्जालमा स्टाटस लेख्ने समूह परिचालित रहेको दाबी गरेका छन् ।



बुधबार केन्द्रीय समिति बैठकले महामन्त्री पदबाट सात दिनका लागि निलम्बन गरेपछि फेसबुकमार्फत प्रतिक्रिया दिँदै ढकालले सभापतिद्वारा परिचालित समूहबाट आफ्नो चरित्र हत्या हुनसक्नेमा चिन्तासमेत व्यक्त गरेका छन् ।

केन्द्रीय समिति बैठकमै सभापति लामिछानेले आफू मिडियाको हेडमास्टर हो भन्दै घुमाउरो भाषामा चेतावनी दिएको ढकालको आरोप छ । यद्यपि, आफू सामना गर्न तयार रहेको उनले बताएका छन् ।

‘अरू पनि भनिदिऔँ, अरू के–के गर्नुहुन्छ अब भनेर’, ढकालले लेखेका छन्, ‘अब उहाँको एउटा फेसबुक स्टाटस आउन सक्छ । केही परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ ।’

एक स्टेप अघि बढेर मिडियामा ’प्रमाणसहित’ यो, त्यो भनेर आफ्नो चरित्र हत्या हुने गरी केही हल्ला फैलाउने सभापतिबाट हुनसक्ने आशंका पनि उनले गरेका छन् । ‘आज बैठकमै भनिसक्नुभयो– मिडिया क्षेत्रको हेडमास्टर हो म । सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु भनेर’, ढकालले फेसबुकमा लेखेका छन्, ‘पर्‍यो भने ‘लाइ डिटेक्सन टेस्ट’ दिन पनि तयार छु । पदीय मर्यादामा रहँदा केही राजनीतिक व्यक्तिको नाताले गरेको छु, त्यो पनि आदेशले, हल्ला फैलाउने हो भने डिफेन्सका लागि म तयार छु ।’

तपाईको प्रतिक्रिया