दैलेख पुगेर प्रचण्डले भने, ‘राष्ट्रको एकता र उन्नतिको लागि समर्पित भएर लाग्छु’

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा समृद्धिको युगको सुरुवात भएको बताएका छन् । उनले १० हजार मेगावाट विद्युत् विक्री गर्ने सहमति भएको र अन्य रणनीतिक गतिविधि अघि बढिसकेकाले देश समृद्धिको युगमा प्रवेश गरिसकेको बताए ।



दैलेखको दुल्लु नगरपालिका–१२ दह गाउँमा कुल शिरोमणि दाशुको प्रतिमा (सालिक) अनावरण कार्यक्रममा बोल्दै उनले राष्ट्रको एकतालाई बलियो बनाउन, राष्ट्रको विकास र समृद्धिलाई नयाँ गतिमा अघि बढाउनका लागि आफू अग्रसर भइरहेको बताए ।

उनले भने,‘ म पहिलो पटक प्रधानमन्त्री हुँदा एकीकृत विकास गर्ने सपना थियो तर, कारण बस् त्यो गर्न सकिएन । दोस्रो पटक प्रधानमन्त्री हुँदा महत्त्वपूर्ण काम गर्न सकेँ । अहिले तेस्रो पटक आर्थिक सङ्कटको बेला प्रधानमन्त्री भएँ तै पनि आर्थिक सङ्कटलाई समाधान गर्दै सुशासनको पक्षमा नयाँ सङ्कल्प सहित अघि बढेको छु । ’

मन्त्रिपरिषद्को पहिलो बैठक देखिनै आर्थिक सङ्कट समाधान, राष्ट्रको एकता, जनताको पक्षमा रहेर राष्ट्रको समृद्धितर्फ अग्रसर भइरहेको प्रचण्डको भनाई छ । उनले अर्थतन्त्रलाई गति दिने कुरामा युगान्तकारी काम भएको विश्वास व्यक्त गरे ।

‘मान्छेलाई विश्वास लाग्न सक्छ नलाग्न सक्छ, कुनै दिन मान्छेले प्रचण्डको बेलामा अर्थतन्त्रमा राम्रो काम भएको रहेछ भन्ने छन्, कुनै दिन,’ उनले भने,‘ गर्वका साथ दाशुको प्रतिमा अगाडि प्रतिबद्धता गर्दछु, राष्ट्रको एकता र उन्नतिको लागि समर्पित भएर लाग्छे प्रण गर्दछु ।’ प्रचण्ड आफ्नो दाहालहरूको उत्पत्ति थलोमा पहिलो पटक पुगेका हुन् । यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदी भूमिका रूपमा चिनिन्छ ।

यो प्रतिमा २५ जेठमा काठमाडौँबाट देवघाट, नारायणघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पुर्‍याइएको थियो । दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तीर्थस्थल र पर्यटकीय स्थलको रूपमा विकास गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया